महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा नगर प्रमुख (मेयर) भोजराज बोहरा र नगर उपप्रमुख (उपमेयर) तुलसी जोशीबीच वर्चस्वको लडाइँ देखिएको छ ।
केही महिनायता गुपचुप चल्दै आएको लडाइँका कारण मंगलबार बोलाइएको कार्यपालिका बैठक नै स्थगित भएको छ ।
मंगलबार दिउँसो २ बजे बोलाइएको बैठकमा उपमेयर जोशीसहित बहुमत कार्यपालिका सदस्य नआएर बहिष्कार गरेपछि मेयर बोहराले बैठक स्थगित गरेका छन् । मेयर बोहराको कार्यकक्षमा बोलाइएको कार्यपालिका बैठकमा नगई सदस्यहरू उपमेयर जोशीसँगै उनकै कार्यकक्षमा बसेका थिए । उपमेयर जोशी पक्षको बहिष्कारपछि ‘कोरम’ नपुगेको भन्दै मेयर बोहराले २६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । मेयर–उपमेयर दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
मेयर बोहराले दिउँसो ३ बजेसम्म कोरम नपुगेपछि बैठक स्थगित गरिएको जानकारी दिए । ‘विवाहमा जानुपर्ने थियो, हतार भयो,’ उनले भने, ‘अबको बैठक सामान्य अवस्थामा बस्छ । त्यस्तो केही होइन ।’ बैठकमा टाउको गन्दा ‘कोरम’ नपुगेपछि बैठक स्थगित गरिएको उनले बताए ।
उपमेयर जोशीले व्यस्तताका कारण बैठक बस्न नसकिएको बताइन् । ‘वनको कार्यक्रम र अन्य कार्यक्रमले बैठक गर्न सकिएन, २६ गते बस्ने सल्लाह भएको छ,’ उनले भनिन्, ‘अन्य कुरा केही होइन ।’ तर बैठक बस्नुपर्ने समयमा उपमेयर जोशीसहित वडाध्यक्षहरूले मेयरको कार्यकक्षमा नगई उपमेयरको कार्यकक्षमा बसेर समय गुजारेका स्रोतले जनाएको छ । नगर कार्यपालिका बैठक बस्नेबारे सबै कार्यपालिका सदस्यलाई एसएमएसमार्फत जानकारी गराइसकिएको थियो ।
बेदकोट नगर कार्यपालिकानिकट स्रोतका अनुसार मेयर–उपमेयरबीच चक्रपथ र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विवाद देखिएको छ । वडा नम्बर ७ रौटेलाबाट सुरु हुनुपर्ने चक्रपथ सडकको योजना टुक्र्याएर मेयर बोहराले आफ्नो गृहवडा १ नम्बरमा लगेपछि उपमेयर असन्तुष्ट छिन् । वडा नम्बर ७ उपमेयर जोशीको वडा हो । चक्रपथकै विषयमा कांग्रेसबाटै निर्वाचित ७ नम्बरका वडाध्यक्ष थानेश्वर भट्ट समेत मेयरसँग असन्तुष्ट छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सञ्चालनका क्रममा आयोजक वडा २ नम्बरका वडाध्यक्ष नरेशबहादुर सिंहले कार्यक्रम सञ्चालन गरेकोप्रति पनि उपमेयर जोशी पक्षको असन्तुष्टि छ । २ नम्बर वडामा कार्यक्रम भए पनि कांग्रेसबाट निर्वाचित ५ नम्बरका वडाध्यक्ष चित्रदेव भट्टलाई कार्यक्रम सञ्चालनको जिम्मा दिनुपर्ने कांग्रेसका वडाध्यक्षको मत थियो । २ नम्बरका वडाध्यक्ष सिंह नेकपा एमालेबाट निर्वाचित हुन् । सिंहले कार्यक्रम सञ्चालनको जिम्मा पाएदेखि ५ नम्बरका वडाध्यक्ष भट्ट पनि मेयर बोहरासँग रिसाएका स्रोतले जनाएको छ ।
मेयर बोहराले बाँडेका केही योजनाको अनुगमन गरेर उपमेयर जोशीले भुक्तानी रोकेका कारण पनि कांग्रेसभित्र असन्तुष्टि देखिएको बताइन्छ । उपमेयर जोशीले पार्टीभित्र फरक धारमा हिँडेका नेता–कार्यकर्ताको भुक्तानी रोकिदिने गरेको आरोप समेत छ ।
‘बेदकोट नगरपालिका बनेदेखि अघिल्लो कार्यकालमा पनि यस्तो कोरम नपुग्ने अवस्था कहिल्यै भएन,’ स्रोतले भन्यो, ‘यसपालि डेढ वर्षमै मेयर–उपमेयरबीच वर्चस्वको विवाद देखिन थाल्यो । शिक्षा र स्वास्थ्य जनमुखी कार्यक्रम केही छैनन् । मैले कार्यक्रम सञ्चालन गर्न पाएन, स्पेस पाएन भन्ने जस्ता उद्देश्यविहीन विवाद देखिएका छन् ।’