महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका वृद्धवृद्धालाई तिहारको मुखमा धोका भएको छ ।
नगरपालिकाको सूचनाअनुसार कात्तिक २२ र २३ गते ५ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण हुने दिन तोकिएको थियो । कात्तिक २३ गते बिहानैदेखि भत्ता बाडिने स्थानमा बसेका वृद्धवृद्धाले साँझपख भत्ता नपाई रित्तो हात घर फर्किनुपर्दा धोका भएको हो ।
५ नम्बर वडाकी स्थानीय ७४ वर्षीया रंगमतीदेवी पन्तले दिनभर पर्खिंदा पनि भत्ता नपाएको गुनासो गरिन् । बेदकोटमा भत्ता वितरण कार्य एनआईसी एसिया बैंकले गर्दै आएको छ ।
नगरपालिकाले कात्तिक १४ गते प्रकाशित गरेको सूचनामा ५ नम्बर वडामा २२ र २३ गते भत्ता बाँड्ने उल्लेख थियो । तर तोकिएको अवधिभित्र उपस्थित भएका वृद्धवृद्धालाई भत्ता नै नबाँडी बैंकका कर्मचारी फर्किएका स्थानीय विवेक पन्तले बताए । नगरपालिकाले कात्तिक १५ गतेदेखि २४ गतेसम्म विभिन्न वडामा भत्ता बाँड्ने मिति तोकेको थियो ।
‘चाडपर्वका बेला भत्ता नपाउँदा खर्चको समस्या हुने भयो,’ पन्तले भनिन्, ‘म जस्ता अन्य वृद्धवृद्धालाई पनि भत्ता किन दिएनन् थाहा भएन । अब १ महिनापछि पाइने भन्ने सुनेकी छु ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले भत्ता वितरणमा केही नमिलेको बताए । ‘तिहारअघि नै भत्ता बाँडिसक्नुपर्ने हो तर बैंकले के मिलाउन सकेन,’ उनले भने, ‘अब तिहारको बिदा लगत्तै बाँकी भत्ता वितरण गर्छाैं । १ महिना कुर्नु पर्दैन ।’ भत्ता वितरणमा देखिने गरेको समस्या समाधानका लागि नगरपालिकाले थप छलफल गर्ने उनले बताए ।