बेदकोटमा अस्पताल भवन बनाउन आनाकानी ! जुर्मुराएका युवाद्वारा संघर्षको चेतावनी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीमा निर्माणाधीन अस्पताल भवनको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय युवाहरू जुर्मुराएका छन् ।

अस्पताल भवन निर्माण संघर्ष समितिका संयोजक तथा ३ नम्बर वडाका स्थानीय खगेन्द्र नाथको अगुवाइमा शुक्रबार बेदकोट नगरपालिकाको कार्यालयमा छलफल भएको छ । नगरपालिकाका मेयर भोजराज बोहरा समेतको सहभागितामा हुने अपेक्षा गरिएको छलफलमा मेयर र नेपाली कांग्रेसका प्रतिनिधिले सहभागिता नजनाएको संयोजक नाथको गुनासो छ ।

दैजी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न संघीय सरकारको कार्यक्रमअनुसार अस्पताल भवन निर्माण प्रक्रिया अगाडि बढेको थियो । नेपाली कांग्रेसनिकट नेताको निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेका कारण कांग्रेसबाट निर्वाचित मेयर र कांग्रेस पार्टीले विकासका काममा खबरदारी गर्नबाट पन्छिने काम गरिरहेको स्रोतले जनाएको छ ।

संयोजक नाथकै अगुवाइ यसअघि समेत दबाबमूलक कार्यक्रम भएका थिए । त्यतिबेला ठेकेदार कम्पनीले आएर काम अगाडि बढाएको थियो । पछि असारमा बर्खा लागेको भन्दै काम रोकिए पनि हालसम्म सुरु हुन सकेको छैन । ठेकेदार सम्पर्कविहीन भएर कामकारवाही नगरेपछि स्थानीय युवा जुर्मुराएर खबरदारीमा उत्रिएका छन् ।

शुक्रबारको सर्वपक्षीय भेलामा नेकपा माओवादी केन्द्रबाट मिनराज गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेज ठकुल्ला, नेकपा एमालेबाट हरि गिरी लगायत ३ नम्बर वडाका अगुवाको सहभागिता थियो ।

अस्पताल भवन बनाउन ठेकेदार कम्पनीले ८६ लाख रुपैयाँ पेस्की लिइसकेको स्थानीयले जनाएका छन् । दैजीको शारदा मावि नजिक बन्ने अस्पताल भवनमा ढिलासुस्ती भएकाले अब भोलि शनिबार अस्पताल निर्माणस्थलमै भेला गरेर संघर्ष अगाडि बढाउने निष्कर्ष आज शुक्रबारको भेलाले निकालेको छ । शनिबार दिउँसो २ बजे दैजीमा भेला बोलाइएको संयोजक नाथले जानकारी दिए ।

सम्बन्धित
Loading...