बेदकोटको बेथितिविरुद्ध उत्रिए युवा, ग्राभेलका ४ टिप्पर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा नदीजन्य पदार्थ संकलनमा बेथिति भइरहेको भन्दै स्थानीय युवा विरोधमा उत्रिएका छन् ।

बेदकोटको छेला नजिक बगुन खोलाबाट रोयल्टी नतिरी ग्राभेल संकलन गरिएको आरोप लगाउँदै स्थानीय युवाले शनिबार ४ टिप्पर नियन्त्रणमा लिएर प्रहरी चौकी दैजीको जिम्मा लगाएका छन् ।

‘ग्राभेल बोकेका टिप्परसँग रहेको रोयल्टी पर्ची रसिदमा समय लेखिएको छैन, एकै रसिदले बिहानदेखि साँझसम्म धेरै ट्रिप ग्राभेल बोक्ने गरिएको छ, सरकारको राजस्व चुहावट भइरहेको छ,’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने ।

बगुन खोलाबाट ग्राभेल ल्याएर आएका टिप्परलाई भम्का चौराहमा चेकजाँच गर्दा समय उल्लेख नभएका रसिद भेटिएपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए ।

बगुन खोलामा नगरपालिकाले ४–५ जना कर्मचारी खटाएर अमानतमा रोयल्टी संकलन गरिरहेको छ । अमानतमार्फत रोयल्टी संकलनमा मिलेमतो गरेर राजस्व चुहावट भइरहेको स्थानीयको आरोप छ । ‘एक रसिद मात्रै काटेर दिनभरि ३–४ टिप्पर ग्राभेल बोक्ने गरिएको छ, यसमा प्रमुख प्रशासकीय अधिकृत र मेयरको पनि मिलेमतो हुनसक्छ,’ एक स्थानीयले भने ।

बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) भोजराज बोहराले अमानतमा रोयल्टी उठाउँदा स्थानीयले आशंका गरेर टिप्पर नियन्त्रणमा लिएको जानकारी दिए । ‘स्थानीयको आशंकाबारे हामी अनुसन्धान गर्छाैं । राजस्व शाखाका कर्मचारीलाई मैले पठाइसकेको छु । रोयल्टी नलिई ग्राभेल छाडेको भेटिए कारवाही हुन्छ ।’

सम्बन्धित
Loading...