लकडाउन अन्त्यपछि सर्वाधिक कोरोना पुष्टि, एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गइरहेका बेला मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

मंगलबार मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ८३ पुगेको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या लकडाउन अन्त्यपछि सर्वाधिक हो । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले देशभर १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको बताउनुभयो । काठमाडौं उपत्यकामा १३२ जनामा संक्रमण भेटिएको छ । काठमाडौं जिल्लामा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण भेटिएको गौतमले बताउनुभयो ।

सम्बन्धित
Loading...