काठमाडौं । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापा जिल्लाका ५ पालिकाले आज सोमबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका हुन् ।
बिदाका अवसरमा पालिका कार्यालय र वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ ।
कमल र गौरीगञ्ज गाउँपालिकाले यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले बताए ।
झापामा सन्थाल समुदायको जनसंख्या करीब ३७ हजार छ । सन्थाल समुदायले सोहराई पर्वलाई धार्मिक महत्त्वका साथ मनाउने गरेको छ ।