काठमाडौं । भारतको अध्योयामा नवनिर्मित श्रीराम मन्दिरको भोलि सोमबार प्राण प्रतिष्ठा हुने कार्यक्रमको अवसर पारेर बाँकेको नरैनापुर गाउँपालिकाले आज आईतबार सार्वजनिक बिदा दिएको छ ।
नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा हुने अघिल्लो दिन आज आईतबार नरैनापुर गाउँपालिकामा शोभा यात्रा हुने भएकाले पालिकाले सार्वजनिक बिदा दिएको छ ।
विश्व हिन्दू परिषद्को आयोजनामा आईतबार नरैनापुर–६ सोनबर्शादेखि राप्तीसोनारी–७ हुँदै वडा नम्बर १ कटकुइयासम्म शोभायात्रा हुँदैछ । शोभायात्राको अवसरमा पालिकाका अत्यावश्यकबाहेक गाउँपालिकाको कार्यालय र मातहतका सबै निकायमा सार्वजनिक बिदा दिइएको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले सूचनामार्फत जनाएकी छन् ।
आज आईतबार र भोलि सोमबार पालिकाभर कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको बिक्रीवितरणमा रोक लगाइएको छ । अध्योयामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका पूर्व सन्ध्यामा भगवान् श्रीरामप्रति आस्थावानहरूले नेपालगञ्जका विभिन्न क्षेत्रमा शोभा यात्रा निकालेका छन् ।
नेपालगञ्ज नाका हुँदै नेपाली भक्तजनहरू अध्योया जाने भएकाले सीमामा थप सजगता अपनाइएको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज नवीन रिजालले जानकारी दिए ।
पढ्नुहोस् सूचना –