सुदूरपश्चिम माओवादीमा चर्कियो विवाद, पार्टीको छुट्टै निर्देशन (परिपत्रसहित)

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम पार्टीमा विवाद चर्किंदै गएको छ ।

माओवादीको प्रदेशसभा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय प्रदेश समितिले गरेको छ ।

शनिबार प्रदेश समिति अध्यक्ष हरिराम चौधरी ‘उत्सव’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दल नेता फेर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

संसदीय दलका नेता खगराज भट्टको उपस्थिति विना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले भट्टलाई हटाएर मानबहादुर धामी ‘सन्तोष’लाई दल नेता चयन गरेको थियो ।

प्रदेश समितिले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्णय सच्याउन निर्देशन दिएको छ ।

पार्टीको परिपत्रमा भनिएको छ, ‘यही मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारी विना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दल नेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी परम्परा विधि विपरित केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरितको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’

सभामुखबाहेक १० सदस्यीय संसदीय दलका ६ जनाले धामीलाई समर्थन गर्दै दल नेता चयन गरेका थिए ।

सम्बन्धित
Loading...