महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियान चलाइरहँदा व्यवस्था विरोधी समूहले षड्यन्त्र रचिरहेको बताएका छन् ।
आज बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएर व्यवस्था विरोधी समूहले षड्यन्त्र गरिरहेको दाबी गरे ।
‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ,’ महासचिव गुरुङले भने, ‘अहिले सरकारविरुद्ध भइरहेका गतिविधि व्यवस्था विरोधी छन् तर पश्चगमनको कुनै सम्भावना छैन ।’
घोर पश्चगमनको नारा दिएर केही बिखण्डनकारी समूह सक्रिय भइरहेको भन्दै महासचिव गुरुङले धार्मिक विषय अघि सारेर मुद्दा उठान गर्दै आएको बताए । ‘मुलुक अग्रगमन दिशातर्फ उन्मुख भइरहेको छ,’ उनले भने, ‘केही बिखण्डनकारी तत्वहरू राष्ट्रियता विरुद्धमा लागेका छन् ।’
गठबन्धनमा कुनै चुनौती नभएको बताउँदै उनले मुलुकको समृद्धिका लागि कम्युनिष्ट दल मात्रै नभई गैरकम्युनिष्ट पार्टीसँगको सहकार्य आवश्यक रहेको बताए । समाजवादी मोर्चा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पार्टी एकतामा सबै कम्युनिष्ट दलबीच एकता आवश्यक रहेको बताए ।
एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता–कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतिका आधारमा टुंग्याउनुपर्ने बताए ।