धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिवालय गठनप्रति असन्तुष्टि व्यक्त भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएपछि असन्तुष्टि पोखिएको छ ।
सचिवालयमा प्रदेश इन्चार्ज डिलाराम आचार्यसहित ११ जना परेका छन् । सचिवालयमा स्थायी कमिटी सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य हरिलाल ज्ञवाली ‘अखण्ड’, हेमराज भट्टराई ‘श्रवण’, नेपबहादुर चौधरी, वीरभान चौधरी, लक्ष्मणदत्त जोशी, विना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी रहेका छन् भने प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहनेछन् ।
प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्यको सिफारिसमा सचिवालय गठन गरिएको भनिए पनि पार्टीभित्र असन्तुष्टि देखिएको छ । सुदूरपश्चिमबाट पार्टी स्थायी कमिटी सदस्य एक्ला खगराज भट्ट छन् । प्रदेश इन्चार्जको गृह भूगोल सुदूरपश्चिम बाहिर हो । सचिवालय गठनमा नेता भट्टले चलखेल गरेर बैतडीलाई रोकेको हुनसक्ने एक नेताले दाबी गरे ।
बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सचिवालयमा नराखिएपछि केही नेता, कार्यकर्ताले टिप्पणी गरेका छन् । माओवादी नेता प्रतिक कुँवरले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘ सुदूरपश्चिम पार्टी कसले चलाइरहेको छ ? कस्तो पार्टी बन्दै हो ? त्यहाँका मानिस नेता हुन् कि दास हुन् ? अनि अर्कैको रिमोर्टमा चल्ने संस्थागत ! क्या तुम्हारा सचिवालय क्या तुम्हारी पार्टी …’
केन्द्रीय सदस्य नरेन्द्रबहादुर कुँवर ‘विजयसुन्दर’लाई सचिवालयमा छुटाएकोमा बैतडीमा असन्तुष्टि देखिएको छ । माओवादीको ११ सदस्यीय सचिवालयमा सुदूरपश्चिमका सबै ९ जिल्ला समेत समेटिन सकेका छैनन् ।