कृष्णपुरका मेयर ओझालाई ‘चेक एण्ड ब्यालेन्स’ गर्दै माओवादी, किन भयो खटपट ?

धनगढी । संघदेखि प्रदेश सरकारसम्म गठबन्धन गरेर चलिरहेका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विभाजित देखिएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव समेत रहेका कृष्णपुरका नगर प्रमुख (मेयर) हेमराज ओझालाई नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले टक्कर दिइरहेका छन् ।

नगर कार्यपालिका र नगर सभामा निर्णय र छलफल नै नभएका विषय निर्णय पुस्तिकामा लेखेर मनोमानी गर्न थालिएपछि सार्वजनिक रूपमा विरोध गर्नुपरेको वडाध्यक्ष साउँदको आरोप छ तर मेयर ओझाले भने वडाध्यक्ष साउँद समेत सम्मिलित बैठकले गरेको निर्णयअनुसार काम गर्दा पछि विरोध हुने गरेको प्रतिक्रिया दिए ।

‘जनप्रतिनिधिसँग हामी कार्यपालिका बैठकमै जवाफ माग्छौं, पार्टीले सूचना माग्ने कुरा स्वाभाविकै हो, माग्न पाइन्छ,’ मेयर ओझाले भने, ‘नदीजन्य पदार्थ लगायत अन्य विषयमा गलत भएको भए दोषीहरूले कारवाहीको भागिदार हुनुपर्छ ।’

सत्तारुढ गठबन्धन भन्ने कुरा नैतिकता र धर्मको कुरा भएको उनले बताए । ‘गठबन्धन आफ्नो नैतिकता र धर्मको कुरा हो,’ उनले भने, ‘उहाँहरूले नै जान्ने कुरा हो ।’

मेयर ओझाले नगरपालिकालाई संस्थागत रूपमा नचलाएको वडाध्यक्ष साउँदको आरोप छ । ‘नगरपालिका संस्थागत तरिकाले अगाडि बढ्नुपर्छ, नगरपालिकाका शाखा संस्थागत चल्नुपर्‍यो, कार्यपालिकामा निर्णय नै नभएका, छलफल नै नभएका विषय निर्णय पुस्तिकामा लेखिन्छन्,’ उनले भने, ‘मेयर सा’पले गरिरहेका गलत काममा हामी फड्के किनाराका साक्षी बस्न सक्दैनौं, अख्तियारबाट पनि मुद्दा आएका छन् ।’

कृष्णपुर नगरपालिकामा स्थानीय चुनावताका पनि गठबन्धन नभएको बताउँदै वडाध्यक्ष साउँदले केन्द्र र प्रदेशको गठबन्धन हेर्ने हो भने नगरको नेतृत्व गठबन्धनको भावनाअनुसार चलेको आरोप लगाए । ‘मेयर सा’प गठबन्धनको मर्मअनुसार जानुभएन । शुक्लाफाँटामा एमालेबाट निर्वाचित मेयरले प्रवक्ता कांग्रेसलाई बनाएर मिलाएर लगेका छन्, विषयगत समितिको नेतृत्व अरुलाई पनि दिएका छन्,’ उनले भने, ‘गठबन्धनको मर्ममा मेयरले लैजानुपर्‍यो । उहाँलाई चाहिएका बेला गठबन्धन हुने नत्र नहुने भन्ने हुँदैन ।’

आज शुक्रबार दिउँसो २ बजे कृष्णपुरमा नगर कार्यपालिका बैठक बस्दैछ । त्यसअघि नेकपा माओवादी केन्द्र कृष्णपुर नगर कमिटीले पार्टीको बैठक बोलाएको छ । बैठकमा जनप्रतिनिधिलाई समेत बोलाइएको छ ।

माओवादी केन्द्रका नगर समिति सचिव जगदिश मल्लले मनोमानी रूपमा चलिरहेको कृष्णपुर नगर सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न, जनजीविका विषयमा पार्टी अगाडि बढ्न र आन्तरिक संगठनको विषय छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । कृष्णपुरमा कांग्रेसबाट ४, माओवादीबाट ४ र नेकपा एमालेबाट १ वडाध्यक्ष निर्वाचित भएका छन् । कृष्णपुरमा मेयर, उपमेयर दुवै नेपाली कांग्रेसबाट निर्वाचित छन् ।

यसअघि माओवादीको नगर समितिले मेयरलाई ७ दिने अल्टिमेटम दिएर ध्यानाकर्षण पत्र बुझाइसकेको छ । ‘उहाँले माग पूरा गर्नुभएन भने कस्तो किसिमले अगाडि बढ्ने भनेर रोड म्याप पनि बनाउँछौं, ३३ बुँदे ध्यानाकर्षण नगर सरकारलाई दिएका छौं,’ उनले भने, ‘नगरपालिकामा ३३ बुँदामा नै गलत छ । गल्ती जहाँनिर गरेको छ, त्यहाँ सूचना माग्ने हो ।’

नगरपालिका ठेक्का सिस्टममा गएको उनको आरोप छ । ‘शिक्षा, स्वास्थ्य र निर्माणका कुराहरू ठेक्का र व्यापारिक सिस्टममा चलेको छ । कोटेसन सिस्टममा चलेको छ । खोलाको नदीजन्य पदार्थ अवैध संकलनमा नगर सरकार आफैं पनि हिस्सेदार छ भन्ने सूचना पाएका छौं,’ उनले भने ।

शुक्रबारको नगर कार्यपालिका बैठकमा सशक्त रूपमा प्रस्तुत हुने गरी माओवादीले रणनीति बनाइरहेको छ ।

यस्तो छ माओवादीले बुझाएको ध्यानाकर्षण पत्र –

सम्बन्धित
Loading...