धनगढी । कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रमा परिचालन हुन सुदूरपश्चिम प्रदेशबाट विशेषज्ञ चिकित्सक सहितको टोली प्रस्थान गरेको छ ।
सेती प्रादेशिक अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शिवराज पनेरु र गेटा अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा. गणेश फुलारा, सामाजिक विकास मन्त्रालयका विपद् फोकल फर्सन हेमराज जोशी, प्यारामेडिक्स मिनबहादुर धामी सहितको टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो ।
टोलीसँगै प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट औषधि र सर्जिकल सामग्री समेत पठाइएको छ ।
स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्रालयका मन्त्री झपटबहादुर साउँद, निमित्त सचिव गणेशबहादुर सिंह, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डा. निरज अर्याल लगायतले बिदाइ गरेका छन् ।
शनिबार बिहान बसेको सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रका लागि १ करोड राहत दिने र स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको थियो ।