छिमेकी गोदावरीमा शिलालेखको लडाइँ चल्दा धनगढीका मेयर हमाल उद्घाटन फन्दाबाट टाढा

धनगढी । कैलालीका छिमेकी पालिका गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा बिहीबार आकाश–जमिनको फरक हुने घटनाक्रम देखिए । गोदावरी नगरपालिकामा निर्मित प्रशासनिक भवन बिहीबार दोहोर्‍याएर उद्घाटन गरियो ।

यसअघि तत्कालीन नगर प्रमुख (मेयर) हरिसिंह साउँदको पालामा २०७८ सालमा उद्घाटन भएको भवनलाई वर्तमान मेयर वीरेन्द्र भट्टले उद्घाटन गराए । बिहीबारको उद्घाटन कार्यक्रम असामान्य देखियो, त्यसबेला भित्तामा राखिएको शिलालेख फुटालेर नयाँ मेयरको नामसहित शिलालेख राखियो ।

उद्घाटन भइसकेको भवनमा आफ्नो नाम लेखाउन वर्तमान मेयर भट्टले शिलालेख नै फुटालेर पुनः उद्घाटन फन्दामा फसिरहँदा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने उद्घाटन कार्यक्रम अरुबाट गराइरहेका थिए ।

धनगढी उपमहानगरले मालपोत कार्यालय धनगढीमा जडान गरेको सोलार प्यानलको बिहीबार प्रा.डा. हेमराज पन्तले उद्घाटन गरे । मेयर हमाल उनको पछिपछि उद्घाटन कार्यक्रममा सहभागी भए । मेयर हमालले उद्घाटन गर्ने, शिलालेख लेख्ने र नाम बेच्ने लोभ देखाएनन् ।

बिहीबारै धनगढी उपमहानगरपालिका–१ वसन्त टोल र वडा नम्बर ८ नवदुर्गा मन्दिर जोड्ने पुलको निर्माणका लागि उपमहानगरका नगर उपप्रमुख (उपमेयर) कन्दकला रानाले शिलान्यास गरिन् । बिहीबारै धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि उपमेयर रानाले नै उद्घाटन गरिन् ।

मेयर हमाल निर्वाचित भएदेखि नै शिलान्यास, उद्घाटन र प्रमुख अतिथि बन्ने अभ्यासबाट टाढा रहेका उनको सचिवालयका समन्वयकर्ता सुरेन्द्र भट्टले जानकारी दिए । ‘मेयर सा’पले उद्घाटन र शिलान्यासमा समय खेर नफाल्ने भन्नुभएको छ,’ समन्वयकर्ता भट्टले भने, ‘उद्घाटनको कार्यक्रम गर्नुपर्‍यो भने उहाँले अरुलाई प्रमुख अतिथि बनाउनुहुन्छ । आफ्नो नाम लेखाउने लोभ छैन ।’

गोदावरीमा बिहीबार पुनः भवन उद्घाटन गर्दा सुरक्षाकर्मी परिचालन गर्नुपर्‍यो । नेकपा एमालेले विरोध प्रदर्शन नै गर्‍यो । एमालेबाट निर्वाचित तत्कालीन मेयर साउँदको नाममा रहेको शिलालेख फुटाएपछि एमाले आक्रोशित बनेको छ भने वर्तमान मेयर भट्टले सत्ता र सुरक्षाकर्मीको बलमा आफ्नो नामको शिलालेख लेखाएका छन् । पुनः उद्घाटन कार्यक्रमलाई उपमेयर शारदादेवी रोकायासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

शिलालेख फुटाउने र नयाँ लेखाउने लडाइँ कहाँसम्म पुग्छ ? हेर्न बाँकी छ । गोदावरीको प्रशासनिक भवन एसियाली विकास बैंक (एडीबी) को १३ करोड ४६ लाखको ऋण सहयोगमा बनेको थियो ।

सम्बन्धित
Loading...