काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन, हवाइ उडान र विद्यालय खोल्नेबारे मन्त्रिपरिषद् बैठकले गरेको पूर्ववर्ती निर्णयबाट सरकार पछि हटेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनी निर्णय भएका सबै क्षेत्रलाई भदौ १६ गतेपछि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा समेत थप कडाइ गर्ने भएको छ ।
गृह मन्त्रालयले यसअघि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सवारी र यात्रुलाई उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । अब अनिवार्य कामबाहेक उपत्यका प्रवेश गर्न दिइने छैन ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरू गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्थामा भर्ना तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको छ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा समेत थप कडाइ गर्ने निर्णय गरेको छ ।