काठमाडौं । सरकारले लामो दूरीको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान सेवा सञ्चालनमा आउने मिति १५ दिन सार्ने तयारी गरेको छ ।
यसअघि भदौ १ गतेदेखि यी सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय भएकोमा कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आईतबार बसेको बैठकले १५ दिन पर सार्न प्रस्ताव गरेको छ ।
सीसीएमसीको प्रस्तावमा भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट यसबारे निर्णय हुने जनाइएको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ४ महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो । तर अब त्यो निर्णय कार्यान्वयन नहुने अवस्थामा पुगेको छ ।
भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ गतेसम्म नखोल्ने प्रस्ताव सीसीएमसीले तयार पारेको छ ।
सीसीएमसीको आईतबारको बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव समेत गरेको छ ।
सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीका लागि तोकिएको प्रवेशविन्दु २० बाट १० वटामा झारिनेछ भने अन्यत्रबाट आउनेहरूलाई पूर्ण रूपमा निषेध गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।
तोकिएको प्रवेशविन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रूपमा बन्द गर्न सिफारिस गरेको छ ।
बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टाइनस्थलहरू व्यवस्था गर्ने निर्णय गरेको छ । जनस्वाथ्यका मापदण्ड पालना नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दै बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न सबैमा आग्रह समेत गरेको छ ।