रास्वपा अब रोकिँदैन, देशको दुर्गति बनाउनेहरूको भण्डाफोर हुन्छ, हुन्छ : रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपा अब नरोकिएर देशको दुर्गति बनाउनेहरूको भण्डाफोर गर्ने घोषणा गरेका छन् ।

आज शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सभापति लामिछानेले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको बताए ।

‘आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ । पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौं,’ उनले भने, ‘रास्वपा अब रोकिँदैन, यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ ।’

सभापति लामिछानेले विभिन्न काण्डबारे सरकारसँग जवाफ मागेका छन् । उनले लेखेका छन्, ‘जवाफ चाहियो सरकार – नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ? ललिता निवास काण्डमा दोषी उम्काउने ? सुन काण्डमा तस्करहरू रोजीरोजी जोगाउने ? एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ? टेराम्याक्स घोटालामा संलग्नलाई कारवाही नगर्ने ? वाइडबडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डका फाइल थन्क्याउने ? नारायणघाट–बुटवल, मुग्लिन–पोखरा लगायतका सडकहरू वर्षाैं अलपत्र पारी जनतालाई धुलोमा डुबाउने ? प्रधानमन्त्री र मन्त्री भने करोडौं खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ? यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन् । हुँदाहुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरीब श्रमिकलाई बीच सडकमा गोली हान्ने ?’

आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भएको बताउँदै उनले सोधे, ‘यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?’

राजधानीको बालकुमारीमा प्रहरीको गोली लागेर २ युवाको मृत्यु भएपछि सरकारप्रति आक्रोश व्यक्त भइरहेको छ ।

सम्बन्धित
Loading...