धनगढी । नयाँ उदाएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू राजनीतिक भाषणवाजीमा स्वच्छता र इमान्दारिताको कुरा गर्छन् तर व्यवहारमा हेर्दा पहुँच र पैसा हुनेले नै उच्च पद पाउने देखिएको छ ।
रास्वपा सुदूरपश्चिम प्रदेश समितिको महामन्त्री पदमा नवनियुक्त अनुहार हेर्दा पहुँच र पैसाले काम गरेको देखिएको छ । सुरुआती अवस्थामा पार्टी विस्तारमा काम गरेका पदाधिकारीलाई विस्थापित गरेर अधिवेशनको मुखमा नयाँ अनुहारलाई रास्वपामा स्थापित गर्न खोजिएको छ ।
रास्वपा प्रदेश सभापति प्रकाश विष्टले शुक्रबार डडेल्धुराका पारस बाहुनलाई प्रदेश महामन्त्री नियुक्त गरेका छन् । यसअघि रास्वपा प्रदेश महामन्त्री भोजराज जोशी ‘क्वालिटी’ले मंगलबार राजीनामा दिएका थिए । रास्वपा स्रोतका अनुसार जोशीलाई काम गर्न समय नदिएको आरोप लगाउँदै राजीनामा गर्न बाध्य पारिएको थियो । ‘बाहुनलाई महामन्त्री बनाउन जोशीलाई राजीनामा गराइएको हो,’ स्रोतले भन्यो, ‘डडेल्धुराका बाहुनलाई पार्टीमा स्थापित गराउन केन्द्रीय पदाधिकारीबाटै निर्देशन आएको थियो ।’
नवनियुक्त महामन्त्री पारस रास्वपाका केन्द्रीय सहकोषाध्यक्ष दिपकराज बोहरा निकट मानिन्छन् । रास्वपा सभापति रवि लामिछाने र सहकोषाध्यक्ष बोहरा मिडिया कार्यरत हुँदादेखि नै सहकर्मी हुन् । उनै बोहराको गृहजिल्ला डडेल्धुराका जिल्ला संयोजक पारसलाई सिधै प्रदेश महामन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त महामन्त्री पारसले आफूले लगभग १० महिना पार्टीको डडेल्धुरा जिल्ला संयोजक भएर काम गरेको बताए ।
यसअघि यसै वर्षको दशैंमा महामन्त्री पारसले केन्द्रीय सहकोषाध्यक्ष दिपकबाट टीका थापेर आशिर्वाद लिएको तस्वीर भेटिएको छ । सहकोषाध्यक्ष बोहराबाट दशैंमा टीका थापेकोबारे प्रश्न गर्दा पारसले भने, ‘उहाँ मेरो नातेदार पर्नुहुन्न । उहाँबाट टीका लगाएको छ ।’
सहकोषाध्यक्ष बोहराको गृहजिल्ला निवासी हुनु र उनीसँग निकटता हुनुले पारसलाई महामन्त्री बनाउन सहयोग पुर्याएको रास्वपा स्रोतको दाबी छ । अर्काेतिर पारस आर्थिक रूपमा पनि मजबुत छन् । महामन्त्री पारसले पार्टी काममा आफ्नो कार समेत प्रयोग गर्नसक्ने भएकाले उनलाई प्राथमिकता दिइएको बताइन्छ । ‘पारसले पार्टीमा आर्थिक स्रोतसाधन समेत परिचालन गर्न सक्ने भएकाले उहाँलाई रोजिएको हो,’ स्रोतले भन्यो, ‘पार्टीमा खर्च गर्ने पर्याप्त पैसा र कार नभएका कारण पार्टीका संस्थापक प्रदेश महामन्त्री भोजराज जोशीलाई राजीनामा गर्न लगाइएको हो । निवर्तमान महामन्त्री जोशीसँग मोटरसाइकल मात्रै छ ।’ जोशीले प्रदेश महामन्त्री भएर १ वर्षजति काम गरेका थिए ।
पार्टीको प्रदेश समितिमै महामन्त्री बन्न सक्ने थुप्रै नेताहरू भए पनि सहकोषाध्यक्ष बोहराको आशिर्वादले पारसलाई जिल्ला संयोजकबाट सोझै प्रदेश महामन्त्री बनाएको छ । गृहजिल्ला डडेल्धुराका पारसलाई प्रदेश महामन्त्री बनाउँदा केन्द्रीय सहकोषाध्यक्ष बोहरालाई राजनीतिक रूपमा फाइदा पुग्ने बताइन्छ ।
महामन्त्रीबाट राजीनामा दिँदै जोशीले पूर्ण खटिन सक्ने अर्को साथीलाई पनि पालो दिनुपर्छ भन्ने सोचका साथ जिम्मेवारी पछाडि हटेको बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार पद लिई काम गरिरहेको यहाँहरूलाई थाहा नै छ । पछिल्लो समय सामाजिक कामहरू र आफ्नो क्षेत्रमा कम समय दिएको महसूस गरेको छु, त्यता समय दिँदा यहाँ संगठनलाई मैले गर्दा कुनै अवरोध नआओस् र पूर्ण खटिन सक्ने अर्को साथीलाई पनि पालो दिनुपर्छ भन्ने सोचका साथ अहिलेको लागि जिम्मेवारी पछाडि हटे पनि मेरो सक्रियता रहिरहने छ र जुन यहाँहरूले गर्नुभएको विश्वास छ, त्यो विश्वासलाई निराशामा कहिले परिणत हुन दिने छैन । सधैं सुख–दुःखमा यहाँहरूको साथमा रहनेछु । जय जनता ! जय घण्टी !’
रास्वपा यतिबेला पार्टीको वडा अधिवेशन गरिरहेको छ । वडा अधिवेशन, जिल्ला अधिवेशन हुँदै छिट्टै प्रदेश अधिवेशन बताइएको छ । नेतृत्व चयन गर्ने अधिवेशनको मुखैमा प्रदेशका पदाधिकारी फेरबदल गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।