अत्तरिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समिति कैलालीले ललितपुरको बालकुमारीमा भएको घटनामा मृत्यु भएका युवाहरूप्रति श्रद्धाञ्जलिका लागि दीप प्रज्वलन गरेको छ ।
ईपीएस परीक्षामा सहभागी हुन फाराम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने क्रममा प्रहरीको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
मृतकको चिरशान्तिको कामना गर्दै दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई राहतका लागि सरकारलाई दबाब दिन दीप प्रज्वलन गरिएको गोदावरी नगर सभापति दीपक ओझाले जानकारी दिए ।
‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ, उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्छ, यो देशमा काम गर्ने वातावरण बनोस्,’ सभापति ओझाले भने ।
घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ भने घटनामा संलग्न सुरक्षा अधिकारीलाई निलम्बन गरेको छ ।