धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री भोजराज जोशी ‘क्वालिटी’ले राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत राजीनामा घोषणा गर्दै उनले लेखेका छन्, ‘सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार पद लिई काम गरिरहेको यहाँहरूलाई थाहा नै छ । पछिल्लो समय सामाजिक कामहरू र आफ्नो क्षेत्रमा कम समय दिएको महसूस गरेको छु, त्यता समय दिँदा यहाँ संगठनलाई मैले गर्दा कुनै अवरोध नआओस् र पूर्ण खटिन सक्ने अर्को साथीलाई पनि पालो दिनुपर्छ भन्ने सोचका साथ अहिलेको लागि जिम्मेवारी पछाडि हटे पनि मेरो सक्रियता रहिरहने छ र जुन यहाँहरूले गर्नुभएको विश्वास छ, त्यो विश्वासलाई निराशामा कहिले परिणत हुन दिने छैन । सधैं सुख–दुःखमा यहाँहरूको साथमा रहनेछु । जय जनता ! जय घण्टी !’
उनले महामन्त्री पदबाट राजीनामा दिएर गृहजिल्ला बैतडीमा बढी खटिने र सामाजिक कार्यमा सक्रिय हुने जानकारी दिए । ‘महामन्त्री भएपछि ९ जिल्ला नै जानुपर्ने हुन्छ । मैले ३–४ महिना बैतडीमा संगठन गह्रो बनाउन खटिने निधो गरें,’ उनले भने, ‘पार्टीभित्र म राम्रो गर्न सक्छु, दौडधुप गर्न सक्छु, मसँग गाडी छ भन्ने पनि देखिए । त्यसैले यहाँहरूलाई मौका दिन र आफू सामाजिक काममा जान प्रदेश सभापतिज्यूसँग सल्लाह गरेर राजीनामा दिएँ ।’
रास्वपा यतिबेला पार्टीको वडा अधिवेशन गरिरहेको छ । वडा अधिवेशन, जिल्ला अधिवेशन हुँदै छिट्टै प्रदेश अधिवेशन हुने भएकाले अधिवेशनबाटै साथीहरूको इच्छाअनुसार पुनः जिम्मेवारीमा आउने उनले बताए ।
अधिवेशन नभएको अवस्थामा सभापतिले नै पदाधिकारी मनोनित गर्नसक्ने भएकाले २–४ दिनभित्रै प्रदेश समितिले नयाँ महामन्त्री पाउनसक्ने उनले बताए ।
उनले भने, ‘अहिले सभापतिज्यूले नै सबै नियुक्त गर्ने अधिकार छ, अर्काे विकल्प दिन सक्छन्, आकांक्षी साथीहरू छन् ।’