धनगढीमा बन्नेछ एयरपोर्ट जस्तो बसपार्क ! २० करोड लगानीमा वार्षिक १३ करोड आम्दानी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले एयरपोर्ट जस्तै सुविधासम्पन्न आधुनिक बसपार्क बनाउने भएको छ ।

नगर विकास कोष र धनगढी उपमहानगरको वित्तीय लगानीमा धनगढी–३ कालिकानगर मोहना नदी किनारमा अत्याधुनिक बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ ।

धनगढीका नगर प्रमुख (मेयर) गोपाल हमालले सोमबार एक भिडियो सन्देश जारी गर्दै बसपार्क निर्माण हुनेबारे जानकारी दिएका छन् ।

‘बसपार्कको डीपीआर बनिसकेपछि अब वातावरणीय प्रभाव मूल्यांकन (आईईई) हुन्छ । १ महिनाभित्र प्रदेश सरकारबाट आईईई पास गराउने लक्ष्य छ । त्यसपछि वनसँग जग्गाप्राप्तिको कारवाही सुरु हुन्छ । जग्गा प्राप्तिका लागि संघीय सरकार, वन मन्त्रालयमा प्रक्रिया हुन्छ । त्यहाँ कुनै रुख नभएकाले सहज तरिकाले छिट्टै जग्गा प्राप्त हुने विश्वास छ,’ मेयर हमालले भने ।

नयाँ बन्ने बसपार्क नमूना र उदाहरणीय हुने मेयर हमालले बताए । उनले भने, ‘बसपार्क अब धनगढीको एउटा नमूना हुनेछ, जस्तैः कुतुमिनार देखेपछि हामी दिल्ली हो भन्छौं, धरहरा देखेपछि काठमाडौं भन्छौं, आइफल टावर देखेपछि फ्रान्स आयो भन्छौं । त्यो बसपार्कको फोटो देख्ने बित्तिकै धनगढीको पहिचान होस् भन्ने डिजाइन गरिएको छ । त्यो झण्डै एयरपोर्ट जस्तो छ, त्यहाँ प्रहरीको, मेडिकलको, मिटिङ हल हुन्छ, स्पा हुन्छ । भित्र छिरिसकेपछि बसपार्कको यात्रीले आरामसँग समय बिताउन सक्छ । बसपार्क २ तला हुन्छ । पहिलो तलामा तुरुन्तै जाने यात्रुको प्रतिक्षालय बनाइन्छ, माथिल्लो तला अलि ढिलो जाने यात्रुका लागि बनाइएको छ । ४ वटा जुन मुख छ, त्यसमा लामो, मध्यम, छोटो र लोकल गरेर डिभाइड गरिएको छ, अलग–अलगको अलग–अलग टर्मिनल हुन्छ ।’

बसपार्कको कूल लागत ९९ करोड ३५ लाख ६० हजार रुपैयाँ रहेको उनले बताए । जसमध्ये ८०% रकम नगर विकास कोषले ८ प्रतिशत व्याजदरमा २५ वर्षसम्मका लागि ऋण लगानी गर्नेछ भने उपमहानगरले २०% लगानी गर्नुपर्नेछ ।

‘टेन्डर प्रणालीमा गएमा प्रतिस्पर्धा हुँदा लगानी रकम ३०% तल झर्छ । हामीले बुझाउने २०% २० करोड रुपैयाँसम्म होला । सम्झौता भएको २ वर्ष निर्माण अवधि राखिएको छ,’ उनले भने ।

बसपार्कबाट प्रत्येक वर्ष कम्तीमा १३ करोड ६६ लाख ३५ हजार रुपैयाँ आयआर्जन हुने अनुमान गरिएको उनले बताए । ‘वार्षिक आम्दानीबाटै तिरेर ८ वर्षभित्र सबै ऋण चुक्ता हुन्छ । त्यसपछिका वर्षमा बसपार्क नगरको दीर्घकालीन आयस्रोतको रूपमा विकास हुन्छ,’ उनले भने ।

शान्ति सामुदायिक वनमा गाभिएको गौचरण क्षेत्रमा बसपार्क बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष राजबहादुर ऐरले जानकारी दिए । आधुनिक बसपार्क बन्नु हाम्रो वडाका साथै नगरकै लागि गौरवको विषय भएको उनले बताए । ‘बसपार्क बन्दा एकातिर फोहोरमैला व्यवस्थापनको चुनौती होला भने अर्काेतिर बजार, व्यवसाय, रोजगारीको वृद्धि होला । होटल सञ्चालन हुने भए, व्यवसाय सञ्चालनमा आउने भए । जग्गाको मूल्यांकन बढ्ने भयो । सम्भावनासँगै चुनौती पनि हुन्छन् ।’

६ लेन सडकबाट बसपार्कसम्म आवतजावतका लागि वैकल्पिक व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । ‘डीपीआरमा छुट्टै लिंकरोड बनाउने योजना छैन, भएकै सडकबाट बसपार्कलाई जोड्ने योजना छ,’ उनले भने, ‘नगरको रिङरोड, मोहना रोड, राजपुर सडकलाई प्रयोग गरेर यातायात सञ्चालन गरिनेछ ।’

हेर्नुहोस् भिडियो –

सम्बन्धित
Loading...