काठमाडौं । देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–६ स्थित सडकमा बीआर ३० डब्लु ६३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कौडेना गाउँपालिका–६ सक्रौल बस्ने २० वर्षीय ईन्दल सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा लु९२प ९८१५ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० वर्षीया खिमा विकको आईतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–५ देविपुरमा लु७३प ६९०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आईतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ जुटपानी बस्ने २० वर्षीय मणिराम जैसवालको आईतबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सञ्जिवनी हस्पिटल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको छ ।
काभ्रेको पनौती नगरपालिका–१ बुढापोखरीस्थित सडकमा बा४१प २५३२ नम्बरको स्कुटर अनियन्त्रित भई आईतबार दिउँसो दुर्घटना हुँदा चालक ४५ वर्षीय मंगलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको उपचारको लागि शिरमेमोरियल अस्पतालमा पठाइएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।