काठमाडौं । यो १ हप्तामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
यसै अवधिमा २ हजार ५०६ जना संक्रमित थपिए भने १ हजार ८२१ उपचारपछि डिस्चार्ज भए । स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म मुलुकमा कूल संक्रमित संख्या २२ हजार ५९५ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिवार मुलुकभर ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७८ नयाँ संक्रमित थपिएको र ४९९ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए ।
कोरोनाबाट थप ३ जनाको मृत्यु भएको जानकारी पनि उनले दिए । काठमाडौं, पर्सा र मोरङमा गरी थप ३ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म मृतकको संख्या ७३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार काठमाडौं टोखा नगरपालिका ६ की ४१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको शनिवार पुष्टि भएको हो । ती महिलाको शुक्रवार उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
पर्साको वीरगञ्ज महानगरपालिका–३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । मधुमेह र दमबाटपीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको थियो ।
मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च रक्तचाप र निमोनियाको समस्या भएका ती पुरुषको शुक्रवार मृत्यु भएको थियो ।
प्रदेशगत आधारमा हेर्ने हो भने प्रदेश १ मा पाँच, प्रदेश २ मा ३१, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार थपिएका संक्रमितमा काठमाडौंमा ५६, पर्सामा ५५, बाँकेमा ४९, मोरङमा ३७, सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बागलुङमा १३, सुनसरीमा १० जना छन् ।
काभ्रे, स्याङ्जा र बारामा ७/७ जना तथा मकवानपुरमा ६, रामेछापमा ५, रौतहट, कञ्चनपुर र कैलालीमा ४/४, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत र बझाङमा ३/३, चितवन, सिन्धुली, धादिङ र दोलखामा २/२ नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
कूल संक्रमितमध्ये शनिबारसम्म प्रदेश १ का ९४२, प्रदेश २ का ३ हजार ३२६, वाग्मती प्रदेशका ६०० र गण्डकी प्रदेशका १ हजार ४४१, प्रदेश ५ का ४ हजार १७९, कर्णाली प्रदेशका १ हजार ८८७ र सुदूरपश्चिम प्रदेशका ३ हजार ९३८ गरी १६ हजार ३१३ जना निको भएका छन् ।
शनिवारसम्म मुलुकमा ६ हजार २०६ जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९२९, वाग्मती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २४२, प्रदेश ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९०७ जना सक्रिय संक्रमित छन् । उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयले शनिवर दिएको जानकारीअनुसार मुलुकका क्वारेन्टाइनमा १० हजार ७९२ जना छन् ।
(नागरिक दैनिकमा शरद अधिकारी र मञ्जु गौतमले लेख्नुभएको छ ।)