बेदकोटका व्यवसायी महरालाई ज्यान मार्ने धम्की, पत्नी पक्राउ परेपछि आगजनीको प्रयास
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका व्यवसायी तथा न्यु सैपाल ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रबहादुर महरालाई ज्यान मार्ने धम्की आएको छ ।
सैपालबाट कुखुराका चल्ला र दाना खरिद गरेर पैसा भुक्तानी नगरेका शुक्लाफाँटा नगरपालिका–११ का नरेन्द्र साउँदले सञ्चालक महरालाई गालीगलौज गर्दै धम्की दिएका हुन् ।
साउँदकी पत्नी विपना साउँद कार्की चेक अनादरको बैंकिङ कसूरमा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालयले विपनालाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । कुखुराको दाना र चल्ला कारोबारमा ७ लाख ४० हजारको चेक बाउन्स भएपछि विपना प्रहरी हिरासतमा पुगेकी हुन् ।
पत्नी हिरासतमा पुगेपछि आक्रोशित भएका नरेन्द्रले महरालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । हाल काठमाडौंमा रहेका महराले आफूलाई धम्की दिइएको र आफ्नो गाडीमा आगजनीको प्रयास भएको जानकारी दिए । ‘बुधबार राति १० बजेतिर गाडीमा आगो लगाउने प्रयास गरिएकोमा दैजी प्रहरीको टोलीले आगो निभाएको छ,’ उनले भने, ‘मलाई फोन गरेर धम्की र गालीगलौज भइरहेको छ ।’
गाडीमा आगजनी गरिएकोबारे प्रहरीमा ठाडो निवेदन दिइसकेको सञ्चालक महराले जानकारी दिए ।