लकडाउन अन्त्यबारे पुनर्विचार गर्न बैठक बस्दै, यसरी गर्दैछ सरकारीले तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गते अन्त्य गर्‍यो । सरकारले लकडाउन अन्त्य गर्दा कोरोना संक्रमित पुष्टि हुने संख्या घटेको थियो ।

सरकारले लकडाउन अन्त्य गरेको केही दिनपछि संक्रमितको संख्या फेरि बढ्दै गएको छ । हाल दैनिक ३–४ सय संक्रमित फेला पर्न थालेका छन् ।

हाल मुख्यगरी २ किसिमका गम्भीर समस्या देखिएका छन् । १. घनाबस्ती भएको काठमाडौंमा संक्रमण बढी देखिनु । २. लक्षण भएका संक्रमित देखिनु ।

लक्षण भएका संक्रमितले अरु व्यक्तिमा भाइरस सार्ने सम्भावना बढी हुने विज्ञहरू बताउँछन् । भीडभाड बढी हुने र घनाबस्ती भएको काठमाडौंमा संक्रमितको संख्या बढ्नुलाई समेत चिन्ताको रूपमा हेरिएको छ ।

काठमाडौंमा संक्रमितको संख्या बढ्दै जान थालेपछि आगामी रणनीतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २० गते प्रतिपक्षी दलका नेता र विज्ञहरूसँग छलफल गर्नुभयो । छलफलमा केहीले लकडाउन कडा पार्नुपर्ने र केहीले आर्थिक गतिविधि सञ्चालन गरेर सुरक्षा सावधानी अपनाउनुपर्ने सुझाव दिए । त्यसपछि सरकारीस्तरबाटै कुनै ठूलो निर्णय भइसकेको छैन ।

सरकारले यसअघि भदौ १ गतेदेखि लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनी गरेको निर्णय तत्काल कार्यान्वयन नहुने संकेत सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दिनुभएको छ । गृह मन्त्रालयले अन्तरजिल्ला आवागमनका कडाइ गर्न, रात्रिकालीन आवतजावत बन्द गर्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । अब सरकारले के निर्णय गर्छ त ?

कोरोना रोकथामबारे निर्णय गर्ने र सरकारलाई सुझाव दिने निकायको रुपमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक भोलि आईतबार बस्ने भएको छ । आज शनिबारका लागि तोकिएको बैठक आईतबारलाई सारिएको छ ।

बैठकले कोरोना संक्रमितको अवस्था विश्लेषण गरेर लकडाउन गर्ने वा सुरक्षा सावधानीमा कडाइ गर्नेबारे निर्णय वा सरकारलाई सिफारिश गर्ने सीसीएमसीका सदस्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताउनुभयो ।

सम्बन्धित
Loading...