प्रदेशस्तरीय बुदोकैदो फुलकन्ट्याक्ट कराँतेमा शुक्लाफाँटा शाखा च्याम्पियन, बझाङ दोस्रो

झलारी । प्रथम प्रदेशस्तरीय बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा ५ स्वर्ण पदकसहित शुक्लाफाँटा च्याम्पियन बनेको छ ।

शुक्लाफाँटा बुदोकैदो शाखाको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१ बन्साहा खेलमैदानमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

आयोजक शुक्लाफाँटा बुदोकैदो शाखा ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पार्दै प्रतियोगितामा च्याम्पियन बनेको छ । २ स्वर्ण, ३ रजत, ३ कास्य पदकसहित बझाङ दोस्रो भएको छ भने १ स्वर्ण, ३ रजत र ३ कास्यसहित कञ्चनपुरको बेलौरी तेस्रो भएको छ ।

महेन्द्रनगर शाखा २ स्वर्ण, १ रजतसहित चौथो भएको छ भने डडेल्धुराले प्रतियोगितामा १ स्वर्ण हात पार्दा कैलालीले १ कास्य प्राप्त गरेको छ ।

प्रतियोगितामा खुल्ला महिलातर्फ पूजा चन्द (आयोजक) प्रथम भएकी छन् । रेखा भट्ट (आयोजक) द्वितीय र बेलौरी शाखाकी सुस्मिता राना तृतीय भएकी छन् । कविता चन्द (आयोजक) चौथो भएकी छन् ।

महिलातर्फ ५० केजी तौल समूहमा दिपिका पार्की (महेन्द्रनगर) प्रथम, संगीता बोहरा (बझाङ) द्वितीय, अस्मिता राना (आयोजक) तृतीय तथा रितिका चौधरी (कैलाली) चौथो भएकी छन् ।

४५ किलो तौल समूहमा गीता बोहरा (बझाङ) प्रथम, कुश्मा सार्की (महेन्द्रनगर) द्वितीय, सरस्वती बोहरा (आयोजक) तृतीय भएकी छन् भने सीमा डंगौरा (कैलाली) चौथो भएकी छन् ।

४० किलो तौल समूहमा खगेश्वरी ठकुराठी (महेन्द्रनगर) प्रथम, रञ्जना राना (बेलौरी) द्वितीय, बविता विष्ट (आयोजक) तृतीय र चौथो भावना विष्ट (आयोजक) भएकी छन् । प्रतियोगितामा पुरुष ४५ किलो तौल समूहमा भवन विष्ट (आयोजक) प्रथम, अंकित भट्ट (बेलौरी) द्वितीय र सुभम चन्द्र (बेलौरी) तृतीय भएका छन् भने राजेश ढुंगाल (आयोजक) चौथो भएका छन् ।

पुरुष खुला तौल समूहमा प्रकाश भण्डारी (आयोजक) प्रथम, कूलचन्द्र विष्ट (बझाङ) द्वितीय, निर्मल विक (कैलाली) तृतीय र शुखदेव राना (बेलौरी) चौथो भएका छन् ।

५० किलो तौल समूहमा विरेन्द्र विष्ट (बझाङ) प्रथम, पुष्प विसी (बझाङ) द्वितीय, किरण बोहरा (बझाङ) तृतीय र करन सिंह ठगुन्ना (बेलौरी) चौथो भएका छन् । पुरुषतर्फ ३५ किलो तौल समूहमा प्रविण ठगुन्ना (बेलौरी) प्रथम, लव जाग्री (आयोजक) द्वितीय, गणेश विष्ट (बझाङ) तृतीय र खगेन्द्र विष्ट (बझाङ) चौथो भएका छन् ।

पुरुष ४० किलो तौल समूहतर्फ बासुदेव खडायत (आयोजक), प्रशान्त विष्ट (आयोजक), दिपेश बोहरा (आयोजक) र अमर विष्ट (बझाङ) क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

३० किलो तौल समूहतर्फ दिपेश भट्ट (डडेल्धुरा), राजेश जाग्री (आयोजक), आषिश राना (बेलौरी) र रोहित विष्ट (आयोजक) क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । पुरुष २५ किलो तौल समूहतर्फ किरण भण्डारी (आयोजक) प्रथम, बेलौरी शाखाका कमलदीप राना द्वितीय, प्रिन्स विष्ट (अयोजक) तृतीय र आकाश भण्डारी (आयोजक) चौथो भएका छन् ।

प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताले ५ हजार, उपविजेताले ३ हजार, तृतीयले २ हजार र चौथो खेलाडीले १ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा महिला र पुरुष गरी सुदूरपश्चिमका ९ जिल्लाका करीब ३०० जना खेलाडीको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले आफ्नो कार्यकालमा खेलकुदको विकासका लागि काम गरेको बताए । उनले शुक्लाफाँटामा खेलकुदको विकासका लागि खेलमैदान निर्माण र भौतिक संरचना निर्माणको काम गरिएको बताए ।

खेलकुदका माध्यमबाट स्वास्थ्य स्वस्थ रहनुका साथै युवाहरूमा सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले खेलाडीले खेलकुुदका साथै अनुशासनमा रहनुपर्नेमा जोड दिए । आफू सधैं खेल र खेलाडीको साथमा रहेको बताउँदै उनले खेलकुदको विकासमा लागिपर्ने बताए ।

विशिष्ट अतिथि नगर प्रमुख रणबहादुर महराले खेलकुदको विकासका लागि नगरभित्र भौतिक संरचना निर्माण भइरहेका बताए । ‘खेलकुदको विकासका लागि नगरका विभिन्न ठाउँहरूमा भौतिक संरचना निर्माण भइरहेका छन् । खेल क्षेत्रलाई अगाडि बढाउन इमान्दारिताका साथ लागिरहेका छौं,’ उनले भने ।

नगर प्रमुख महराले कराँतेसँगै नगरभित्र अन्य विविध खेलहरू सञ्चालन गरिएका बताए । बन्साहमा निर्माण भइरहेको कभर्ड हल चाँडै नै सम्पन्न गरिने बताउँदै उनले वडा नम्बर १० झलारीमा कभर्ड हल निर्माण भइरहेको बताए ।

खेल क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको उनले बताए । प्रत्येक वडामा खेल मैदानको व्यवस्था गरिएको र थप व्यवस्थित गरिने उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना जोशी पन्त, सम्पूर्ण वडाका वडाध्यक्ष लगायतको उपस्थिति थियो ।

सम्बन्धित
Loading...