काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय बाढीले गरेको क्षति लगायत समस्याबारे जानकारी गराउन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालसहित नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
कञ्चनपुर इन्चार्ज पालले कञ्चनपुरका समस्याबारे प्रधानमन्त्री ओलीलाई भेटेर जानकारी गराएको बताइन् । पोलिटब्युरो सदस्य पालसँगै केन्द्रीय सदस्य कमला बोहरा र सल्लाहकार परिषद् सदस्य तथा पूर्व सांसद दीपकप्रकाश भट्ट लगायत नेताहरू सहभागी थिए ।
प्रधानमन्त्रीलाई महाकाली पुल, महाकाली कोरिडोर लगायत गड्डाचौकी सीमाबाट आउँदा चेकजाँचका नाममा जनताले भोग्नुपरेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि अनुरोध गरेको इन्चार्ज पालले बताइन् ।
नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि पूर्व सांसद समेत रहेकी इन्चार्ज पालले जनसरोकारका विषय सम्बोधनका लागि सक्रियता बढाएकी छन् ।