एमाले कञ्चनपुरमा सुदूरपश्चिमकै पहिलो महिला अध्यक्ष, लक्ष्मी बुढा सर्वसम्मत निर्वाचित

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले सुदूरपश्चिमकै पहिलो महिला जिल्ला अध्यक्षका रूपमा लक्ष्मी बुढालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

बिहीबारदेखि सुरु भएको एमाले कञ्चनपुरको ९औं जिल्ला अधिवेशनबाट अध्यक्ष बुढाको नेतृत्वमा पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशन उद्घाटनपछि लम्बिएको बन्दसत्र र निर्वाचन प्रक्रिया सहमतिमा टुंगिएको छ । यसअघि उनी कार्यबाहक जिल्ला अध्यक्ष थिइन् ।

जिल्ला उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लबराज भट्ट, उपसचिवमा तुषार खड्का र अशोक चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।

सचिव भट्ट यसअघि ८औं जिल्ला अधिवेशनबाट सचिव निर्वाचित भएका थिए ।

एमाले कञ्चनपुरका सचिवमा पल्लबराज भट्टले पदाधिकारीको टुंगोसँंगै जिल्ला सदस्यहरूको समेत टुंगो अन्तिम चरणमा पुगेको बताए । ‘हामीले जसरी पदाधिकारी एकआपसमा समझदारीमा टुंगो लगायौं, त्यसरी नै सदस्यहरूको समेत टुंगो लगाउन जुटेका छौं,’ उनले भने, ‘आज दिउँसोसम्ममा सदस्यसहित टुंगो लगाएर घोषणा गर्छाैं ।’

पदाधिकारी सर्वसम्मत घोषणा र शपथ कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो ।

झण्डै ३ दशकदेखि एमाले राजनीतिमा सक्रिय महिला नेत्री लक्ष्मी बुढाले पार्टीले दिएको जिम्मेवारी अनुरूप कञ्चनपुरमा पार्टीलाई एकढिक्कादेखि सक्रिय बनाउँदै जनपक्षीय काममा नेता–कार्यकर्ता खटाउने प्रतिबद्धता जाहेर गरेकी छन् ।

सम्बन्धित
Loading...