कांग्रेस सांसदको घरबाट अर्बाैंको ‘कालोधन’ बरामद, ७ दिनदेखि नोट गन्दागन्दा अझै बाँकी

नयाँदिल्ली । भारतीय कांग्रेसका राज्यसभा सांसद धीरजप्रसाद साहूको घर र कार्यालयमा आयकर विभागले छापा हानेर अर्बाैं रुपैयाँ बरामद गरेको छ ।

विभागका कर्मचारीले ६ डिसेम्बरका दिनदेखि थालेको अपरेशन अझै जारी छ । हालसम्म साढे ५ अर्ब रुपैयाँ बरामद रकम गणना भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बरामद रकमको गणना अझै बाँकी छ ।

बरामद रकम गणना गर्न आयकर विभागले नोट गन्ने मशिन अन्यत्रबाट पनि झिकाएको छ तर गणना लम्बिँदै गएको छ । सांसद धीरजको घर र उनका संस्थानबाट ५०० र २०० दरका नोट ठूलो मात्रामा बरामद गरिएका छन् ।

भारतको इतिहासमा हालसम्मकै सबैभन्दा बढी कालोधन बरामद भएको समाचारमा उल्लेख छ । विभागले बरामद गरेका १७६ झोलामध्ये हालसम्म १४० झोलाको मात्रै गणना सकिएको छ । मदिरा कारोबारमा कर छली गरेको विषयबाट छानबिन थालेको आयकर विभागले घर र कार्यालयमा छापा हान्दा ठूलो मात्रामा रकम बरामद गरेको छ ।

सांसद धीरजको लगानी रहेका बौद्ध डिस्टलरी प्रालि, बलदेव साहू इन्फ्रा लिमिटेड, क्वालिटी बोटलर्स, किशोर प्रसाद विजय प्रसाद बेवरेज लिमिटेड लगायतमा आयकर विभागले छापा हानेको छ । यी कम्पनी झारखण्डको राँची र लोहरदगा तथा ओडिशाको बलांगीर, संबलपुर र रायडीह क्षेत्रमा रहेका छन् ।

धीरज पहिलोपटक सन् २००९ मा उपनिर्वाचनबाट राज्यसभा सांसद बनेका थिए । त्यसपछि २०१० र २०१८ मा तेस्रोपल्ट उनी राज्यसभा सांसद बनेका छन् ।

सम्बन्धित
Loading...