काठमाडौं । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) संयोजक अरविन्द केजरीवाल पक्राउ पर्नसक्ने देखिएको छ ।
बहुचर्चित शराब घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी) ले मृख्यमन्त्री केजरीवाललाई बयानका लागि बोलाएसँगै उनी पक्राउ पर्नसक्ने चर्चा थालिएको छ ।
दिल्ली सरकारका मन्त्री आतिशीले केजरीवाललाई पक्राउ गर्न लागिएको बताए । शराब घोटाला प्रकरणमा हालसम्म मनीष सिसोदिया, संजय सिंह र सत्येनद्र जैन पक्राउ परेका थिए ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आपलाई सिध्याउन केजरीवाललाई पक्राउ गर्ने योजना बनाएको मन्त्री आतिशीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय कानूनअनुसार सामान्य अवस्थामा मुख्यमन्त्री, सांसद लगायतलाई पक्राउ गर्न सकिँदैन । तर फौजदारी अपराधको छानबिनमा पक्राउ गर्न सकिने प्रावधान छ । सराब घोटाला हुनु आपराधिक भ्रष्टाचारको रुपमा मानिन्छ ।