काठमाडौं । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ ।
‘विष्णु खत्री’ यूट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ ।
सुमधर क्रियसनले उत्पादन गरेको गीतमा शब्द र संगीत पनि खत्रीकै छ ।
आशिष अविरलको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन् । गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिका लगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसंग जोडिएको छ ।
भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको गायक खत्रीले बताए ।
उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’ लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’ लगायत गीत पनि चर्चित छन् ।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्ष समेत रहेका उनी २ दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।