शुक्लाफाँटामा एकैदिन ४२ जना ‘सिकलसेल एनिमिया’का बिरामी पहिचान

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकैदिन ४२ जना ‘सिकलसेल एनिमिया’का बिरामी पहिचान भएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा शुक्लाफाँटा नगरपालिका–१ शहरी स्वास्थ्य केन्द्र बन्साहमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरमा वडा नम्बर १, २ र १२ का ५४८ जनाले रगत परीक्षण गराएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले १७५ पुरुष र ३७३ महिलाको रगत परीक्षण गरिएकोमा ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ । १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संवाहक देखिएको उनले जानकारी दिए ।

उनले भने, ‘रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका ५४८ जनाको रगत परीक्षण गरेका थियौं, ४२ जनामा सिकलसेलको संवाहक देखिएको छ, पहिलो चरणमा संक्रमित पहिचान भएकाहरूको फेरि रगत परीक्षण गर्छाैं । त्यसपछि सिकलसेल एनिमिया या थालसेमिया के हो भन्ने थाहा हुन्छ ।’

पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको पहिचान हुने संख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर जोखिममा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । सिकलसेल रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको औलो रोग निरीक्षक भट्टले जानकारी दिए ।

उनले भने, ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ । यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।’

शहरी स्वास्थ्य चौकी बन्साहमा आयोजित सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त, स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्ट लगायत स्वास्थ्यकर्मीको सहभागिता थियो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख महराले बताए । ‘हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सबै वडाहरूमा स्वास्थ्य चौकीहरू सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘विभिन्न समयमा स्वास्थ्य शिविर पनि गर्दै आएका छौं ।’

सम्बन्धित
Loading...