३ जना चढेको मोटरसाइकल दुर्घटना : गम्भीर घाइते युवकको उपचारका क्रममा मृत्यु
धनगढी । कञ्चनपुरमा ३ जना चढेको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका १ युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
सोमवार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ मा सुदूरपश्चिम प्रदेश ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पछाडि सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको उपचार भइरहेको छ ।
मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।