नक्सा पास नगरी तला थपेपछि व्यवसायी बस्नेतको घरमा चल्यो धनगढीको डोजर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले १ नम्बर वडाको पार्कमोडस्थित अमित प्लाजा रहेको घरको माथिल्लो तला भत्काएको छ ।

नक्सा पास नगरी घरको तला थपेपछि उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदीपकुमार अग्रवालको घर भत्काएको हो ।

उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमालले मंसिर १३ गते २४ घण्टाभित्र अवैध संरचना हटाउन आदेश गरेका थिए । तर स्वयं घरधनीले संरचना नहटाएपछि शनिबार नगर प्रहरीसहित उपमहानगरको स्रोतसाधन प्रयोग गरेर अवैध संरचना हटाइएको छ ।

घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थपेको र संरचना निर्माण गरेको पाइएको थियो ।

घरधनीले उपमहानगरबाट अढाई तलाको नक्सा पास गरेको भए पनि तेस्रो तलामा ट्रस निर्माण गरेको, भवनको पूर्वतर्फ सडकमा ४ फिट २ इन्च छज्जा र छज्जामा बनेको स्टोर रुम र बाथरुम समेत सडक क्षेत्राधिकारभित्र परेको उपमहानगरले प्रेषित गरेको पत्रमा उल्लेख थियो ।

अवैध संरचना स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम भत्काउनुपरेको उपमहानगरले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...