काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज शक्रुबार बिहानैदेखि जिल्लाभर ‘लकडाउन’ जस्तै कडाइ गरेको छ ।
बिहीवार बसेको संकट व्यवस्थापन केन्द्रको जिल्लास्तरीय बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनलाई अनिश्चितकालसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सवारीसाधनमा अर्काे निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।
राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारीसाधन जिल्लामा प्रवेश गर्न नदिने निर्णय पनि गरिएको छ । बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टाइन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेस्टुरेन्ट बन्द गर्ने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको जनाइएको छ ।
बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधि अवलम्बन गर्न विद्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
केन्द्रको बैठकले जिल्लाका ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको जनाइएको छ ।