विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा तरकारी एवं फलफूलको व्यापार गर्दै आएका व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधवार विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गर्नलाई उनको खोजीका लागि प्रहरी चौकी मटेरुवा र नगर रक्षकको अलग–अलग टोली परिचालित गरिएको थियो ।
वडाध्यक्षलाई खबर गरेर प्रहरी सहायक निरीक्षक ताराबहादुर बस्नेतको टोली घरमै पुग्यो । तर उनी घरमा भेटिएनन् । परिवारका सदस्यबाट नम्बर लिएर फोन गर्दा पनि सम्पर्क हुन सकेन । धेरै समयको प्रयासपछि सम्पर्क हुँदा उनी विराटनगर–११ मा रहेको नयाँ गुद्री बजारमा तरकारी बेचिरहेका थिए ।
उनी गुद्री बजारमा तरकारी बिक्री गरिरहेका छन् भन्ने सुनेर उपचारका लागि लैजान नगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा नगर रक्षकको टोली पुग्यो । टोली पुग्दा उनले काम गर्ने पसलमा तरकारी किन्नेको भीडभाड थियो ।
गुद्री बजारको पसलमा काम गर्छन् भन्ने कुरा थाहा नहुँदा कोरोना संक्रमण पुष्टि भइसकेका उनको खोजीमा प्रहरी र नगर रक्षकले निकै समय खर्चनुपर्यो । उनका दाजु–भाइले स्वाब परीक्षण गराएका थिए । भाइको भने रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ ।
यसअघि साउन १४ गते बुधवार कोरोना देखिएका अर्का संक्रमित विराटनगरको शनिमन्दिर चौकमा पान बेचिरहेको अवस्थामा भेटिएका थिए । महानगरले पान पसलबाटै एम्बुलेन्समा राखेर आइसोलेसनमा भर्ना गरेको थियो ।
उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच गराएका थिए । परीक्षणका लागि स्वाब दिएर पान बेच्न आएका उनको रिपोर्टपछि पोजिटिभ देखिएको थियो ।
कोरोनाको शंका लागेर परीक्षणको दायरामा आएकालाई स्थानीय प्रशासन र महानगरले ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गर्दै आएको छ । तर स्वाब परीक्षण गर्न दिएका रिपोर्ट सार्वजनिक नभइकन आआफ्नो काममा व्यस्त हुने गरेको पाइएको छ ।
‘परीक्षणको रिपोर्ट नआएसम्म कोरोना लागेको कुरा प्रस्ट हुँदैन,’ महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘सबैले सतर्कता अपनाउनुको विकल्प छैन ।’
(अन्नपूर्ण पोस्ट दैनिकमा किशोर बुढाथोकीले लेख्नुभएको छ ।)