परराष्ट्रमन्त्रीको सचिवालयले विपिन जोशीबारे भ्रम फैलायो ? दूतावासको अर्कै विज्ञप्ति

धनगढी । हमास समूहले इजरायलमाथि आक्रमण गरेदेखि सम्पर्कविहीन रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीबारे परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको सचिवालयले भ्रम फैलाएको देखिएको छ ।

मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले विपिन जोशी गाजामा सुरक्षित रहेको जानकारी दूतावासबाट प्राप्त भएको समाचार सम्प्रेषण गरेका छन् । तर इजरायलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै विपिन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको स्पष्ट पारेको छ ।

मन्त्री साउद गृहजिल्ला कञ्चनपुर पुगेर विपिन जोशीका परिवारलाई भेटेपछि मन्त्रीको सचिवालयबाट विपिन सुरक्षित रहेको र स्वदेश फर्काउन पहल भइरहेको समाचार सम्प्रेषण गराइएको छ । तर दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

मन्त्रीको सचिवालयलाई उदृत गर्दै सम्प्रेषित समाचारमा भने इजरायलस्थित दूतावासले जोशी हमासको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ गरेको उल्लेख छ । तर दूतावासले विज्ञप्तिमार्फत जोशीको अवस्था यकिन हुन नसकेको स्पष्ट पारेको छ । जोशी सुरक्षित रहेको पछिल्लो जानकारी आधिकारिक हुन्थ्यो भने दूतावासको विज्ञप्तिमा नै स्पष्ट उल्लेख भएको हुन्थ्यो ।

दूतावासको विज्ञप्तिमा हमास समूहले ७ अक्टोबर २०२३ मा बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्ये विपिन जोशी पनि रहेको इजरायलको डिफेन्स फोर्सका प्रवक्तालाई उदृत गर्दै उल्लेख गरिएको छ । तर हमासको नियन्त्रणमा रहेका भनिएका विपिनको पछिल्लो अवस्थाबारे इजरायलले आधिकारिक जानकारी दिनसक्ने अवस्था रहँदैन । जोशीलाई लगेको भनिएको गाजा क्षेत्रको प्रशासनिक निकाय वा हमास समूहबाट नेपाली दूतावासलाई कुनै जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छैन ।

यसबारे प्रतिक्रिया लिन मन्त्री साउदका स्वकीय सचिव जोशीलाई फोन गर्दा उनले फोन उठाएनन् ।

यस्तो छ दूतावासको विज्ञप्ति –

सम्बन्धित
Loading...