धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा आगलागी भएको छ ।
शुक्रबार राति १ बजे धनगढी उपमहानगरपालिका–१ सारथी अस्पतालको क्षेत्रमा आगलागी भएको हो ।
आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली प्रहरीका सूचना अधिकारी डीएसपी कुलदीप चन्दले अस्पताल नजिकको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता–चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी सुरु भएको जानकारी दिए । गोदामबाट सल्केको आगोले अन्य पसलमा पनि फैलिएर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी देवेन्द्रबहादुर पालको नेतृत्वमा राति नै ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको नेतृत्वमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको नेतृत्वमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीमा मानवीय क्षति नभए पनि ठूलो संख्यामा भौतिक क्षति भएको जनाइएको छ । क्षतिको पूर्ण विवरण संकलनको क्रममा छ ।
प्रहरीका अनुसार दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगतबहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर (कपडाको गोदाम), न्यू सदीक्षा ईन्टरप्राइजेज (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु–सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथी अस्पताल कैलाली र जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (ब्याग हाउस) मा आगलागीबाट क्षति पुगेको छ ।