धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई जरिवाना गराउन थालेको छ ।
नगर प्रमुख (मेयर) गोपाल हमालले सामाजिक सञ्जाल फेसबूकमार्फत जरिवाना गराइएको जानकारी दिएका छन् ।
केही दिनअघिसम्म मेयर हमालले फोहोर छुट्याएर डस्टबिनमा फाल्न सम्झाइबुझाई गरेको जनचेतनामूलक भिडियो फेसबूकमा राख्ने गरेका थिए । सडकमा राखिएको डस्टबिनमा फोहोर हालेको र कुहिने/नकुहिने फोहोर नछुट्याई फालेको भेटाएपछि सरसफाई शाखाका कर्मचारीले जरिवाना तिराएको मेयर हमालले जनाएका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘हिजो रातिको समयमा सडकमा राखिएको डस्टबिनमा फोहोर हालेको र कुहिने/नकुहिने फोहोर नछुट्याई फालेको सरसफाई शाखाका कर्मचारीले भेटाएका थिए । सोही समयमा जरिवाना गराएर जथाभावी फोहोर नगर्न प्रतिबद्धता पनि गराइएको छ ।’
कुहिने र नकुहिने फोहोरलाई छुट्याएर छुट्टाछुट्टै डस्टबिनमा फाल्न उपमहानगरले आग्रह गर्दै आएको छ ।