काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै बिहीवारदेखि देशभर अत्यावश्यकबाहेक सवारीसाधनमा जोरबिजोर नियम लगाएको छ ।
गृह मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जोरबिजोर नियमबारे जानकारी गराएको थियो । तर सरकारले लागू गरेको जोरबिजोर नियमले कोरोना रोकथाममा भूमिका खेल्नेमा शंका गर्न थालिएको छ ।
जोरबिजोर नियमले सडक ट्राफिक व्यवस्थापन सहज हुने भए पनि कोरोना रोकथाममा सहयोग नपुर्याउने कतिपय विज्ञले तर्क गर्न थालेका छन् । कोरोना भाइरस संक्रमण रोकथामबारे विभिन्न उपाय बताउँदै आएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विज्ञको गुण नभएका व्यक्तिको सुझावलाई सरकारले कार्यान्वयन गर्दा जोरबिजोरको नियम लगाइएको बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै विज्ञ पाण्डेले जोरबिजोर नियमले यातायातका साधन र सडकमा भीडभाड खचाखच भएको बताउनुभएको छ ।
‘विज्ञता भनेको गहन अध्ययन, चिन्तन र दूरदृष्टिको मिश्रण हो । एबीसीडी घोकेर, जागिरमा हाजिर गरेर मात्र मान्छे विज्ञ हुँदैन । जनताको करबाट तलब र भत्ता खाँदैमा, विदेशीको संस्थाको अनुवादक बन्दैमा तथा दायाँबायाँ गरेर पैसा कमाउँदैमा कोही विज्ञ हुँदैन । फराकिलो सोच, ज्ञान, विवेक र इश्र्यारहित समभाव विज्ञताका अनिवार्य गुण हुन्,’ उहाँले लेख्नुभएको छ, ‘त्यस्ता गुण नहुँदा कोरोना संक्रमण नियन्त्रण गर्न जोरबिजोर नियम लगाइन्छ । आज बस, माइक्रो बस, टेम्पोमा मान्छेहरू खचाखच छन् । गाडी नपाएर पैदल हिँड्नेको जुलुस छ, चोक तथा बजार खचाखच छन् । धेरै सिट भएका बसलाई (साझा बस, महानगर यातायात, सुन्दर यातायात, मयुर यातायात लगायत तथा सेना र प्रहरी र सरकारी बस र स्कूलका बस आदि) जनस्वास्थ्यका मापदण्ड पूरा गरेर चल्न दिने, माइक्रो बसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तथा टेम्पोलाई सामान ओसारपसारमा लगाउने निर्णय भएको भए धेरै प्रभावकारी हुन्थ्यो । जोरबिजोरले ट्राफिक जाम चाहिँ कम गराउँछ । हाम्रो दृष्टिकोण, योजना र कार्यान्वयनको पाटो बदल्नु जरुरी छ ।’
विज्ञता भनेको गहन अध्ययन, चिन्तन र दुरदृष्टिको मिश्रण हो | ABCD घोकेर, जागिरमा हाजिर गरेर मात्र मान्छे बिज्ञ हुँदैन |…
Posted by Rabindra Sameer on Wednesday, August 5, 2020