मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, साइकल यात्रीलाई बचाउन खोज्दा गयो ज्यान

धनगढी । सुदूरपश्चिममा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–६ खैरेनापुलस्थित सडकमा सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अर्जुनी जंगलस्थित पूर्वपश्चिम राजमार्गमा भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक भारतको चम्पावत जिल्ला पूर्णागिरी गाउँ निवासी २५ वर्षीय रोहित अग्रवालको मृत्यु भएको छ ।

साइकल यात्री शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी बस्ने २० वर्षीय रमेश पाललाई बचाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...