धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले साइकलमा तरकारी बेच्नेबाट कर लिएको भन्ने चर्चाको वास्तविकता बाहिर आएको छ । धनगढी उपमहानगरपालिकाबाट कर संकलनको ठेक्का लिएको कम्पनीले बदमासी गर्दा उपमहानगरकै बदनाम हुने अवस्था आएको खुलासा भएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ मा धनगढी उपमहानगरभित्र बहाल बिटौरी कर संकलनको ठेक्का सम्झौता बालाजी कन्स्ट्रक्सन कैलालीसँग भएको थियो । साइकल, मोटरसाइकल र पैदल दूध, तरकारी तथा कवाडका सामानहरूको व्यवसाय गर्ने व्यक्तिहरूसँग कम्पनीले सम्झौतामा उल्लेख नै नभएको ‘कर’ लिएर अवैध असुली गरेको पाइएपछि नगर प्रमुख (मेयर) गोपाल हमालको निर्देशनमा कारवाही थालिएको छ । बालाजीलाई आईतबार पत्राचार गर्दै उपमहानगरले अवैध असुली नगर्न सचेत गराएको छ । बालाजीलाई लेखिएको पत्र मेयर हमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभिन्न सञ्चारमाध्यमबाट धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट संकलन गरिने आन्तरिक आय तर्फको बहाल बिटौरी कर संकलन गर्ने जिम्मा पाएको श्री बालाजी कन्स्ट्रक्सन धनगढी कैलालीले साइकलमा तरकारी व्यवसाय गर्ने किसान र साइकलमा कवाड संकलन गर्ने कवाडी व्यवसायीबाट समेत सम्झौता विपरित कर असुल गरिरहेको जानकारी प्राप्त भएको थियो । आज बालाजी कन्स्ट्रक्सनलाई तोकिएको पट्टापूर्जीमा उल्लेख नभएको साइकलमा तरकारी व्यवसाय गर्ने किसान, मोटरसाइकल र पैदल व्यवसाय गर्ने व्यक्तिहरूबाट बहाल बिटौरी कर संकलन नगर्नका लागि सचेत गराइएको छ र अब उपरान्त यस्तो कार्य गरेको पाइएमा बालाजी कन्स्ट्रक्सनको धरौटीबाफत पेश गरेको बैंक ग्यारेन्टी जफत गरी ठेक्का तोडिने व्यवहोरा समेत बालाजी कन्स्ट्रक्सनलाई पत्रमार्फत जानकारी गराई पत्राचार गरिएको विषय सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु ।’
पत्रमा लेखिएको छ, ‘अब उपरान्त यस्तो कार्य गरेको पाइएमा तपाईंले धरौटी बापत पेश गरेको बैंक ग्यारेन्टी जफत गरी ठेक्का तोडिने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ ।’
साइकलमा व्यवसाय गर्नेबाट हालसम्म अवैध रूपमा लिएको कर संकलनको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि कार्यालयले निर्देशन दिएको छ । ठेक्का लिने कम्पनीले साइकलमा व्यवसाय गर्नेबाट कर लिएर बदमासी गरेको अवस्थामा उपमहानगरले कर लिएको भन्ने चर्चा सामाजिक सञ्जालमा आएको थियो । उपमहानगरले साइकलमा व्यवसाय गर्नेबाट कर लिने कुनै निर्णय नगरेको उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।