दशैं मनाउन घर आएका छोराले सामान्य विवादमा गरे ८१ वर्षीय बुवाको हत्या

काठमाडौं । भारतमा मजदुरी गर्दै आएका छोराले दशैं मनाउन घर आएका बेला सर्लाहीको हरिवन नगरपालिका–३ डाबरीमा कोदालो प्रहार गरी बुवाको हत्या गरेका छन् ।

स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षीय ओमप्रसाद मैनालीको हत्या गरेका छन् ।

गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते भएका थिए । ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याएका थिए । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा बिहीबार राति चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका–४ तीनघरे लच्का क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए ।

प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माइला छोरा हुन् । भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दशैं मनाउन घर आएका बेला घटना भएको छ ।

सम्बन्धित
Loading...