काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनतिर नेपालका थुप्रै नेताहरूको उठबस भइरहन्छ । सरकारकै मन्त्रीहरू चीनतिर आउजाउ गरिराख्छन् । वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ हालै चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
चीनतिर उठबस भए पनि नेपाली नेताहरूले चीनबाट शिक्षा लिन सकेको देखिँदैन । चीनमा भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कडा सजाय हुने गरेका समाचारहरू सुनिन्छन् । तर नेपालमा भ्रष्टाचारमा मुछिएका ठूल्ठूला नेताहरूलाई जोगाउने प्रयास हुने गरेको देख्न पाइन्छ । हालैका चर्चित सुन तस्करी प्रकरण र नक्कली शरणार्थी प्रकरणमा मुछिएका थुप्रै नेताहरूमाथि छानबिन नै नभएको गुनासो सुनिन्छ ।
तर चीनले भ्रष्टाचारको आरोप लागेका रक्षामन्त्री ली साङ्फुलाई बर्खास्त गरेको छ । चिनियाँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले उनलाई बर्खास्त गरेको हो । उनलाई बर्खास्त गरिए पनि नयाँ रक्षामन्त्रीको नाम सार्वजनिक भएको छैन । विवादमा परेपछि यसअघि विदेशमन्त्री छियान गेङलाई हटाइएको थियो ।
हतियार खरिद प्रकरणमा रक्षामन्त्री साङ्फुले भ्रष्टाचार गरेको आरोप लागेपछि अनुसन्धान भएको थियो ।
आरोप लागेपछि रक्षामन्त्री साङ्फु लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनलाई घरमै नजरबन्दमा राखिएको बताइन्थ्यो । तर अन्ततः पार्टीले उनलाई पदमुक्त गर्ने निर्णय लिएको छ ।
हतियार खरिद विभागको प्रमुख हुँदा उनले अनियमितता गरेको आरोप लागेको छ । ६५ वर्षीय ली साङ्फुको जन्म सन् १९५८ फेब्रुअरीमा भएको थियो । उनी जनमुक्ति सेनाका कमाण्डर ली शाओजुका छोरा हुन् । उनले इन्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।