पहिलो सन्तान छोरी जन्माएको १० दिनमै पत्रकार सीताले संसार छाडिन्

काठमाडौं । नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा निधन भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्य शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा पहिलो सन्तान छोरीलाई जन्म दिएकी थिइन् ।

रक्तचाप ‘लो’सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमा राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासी घरमा ल्याइएको थियो ।

मंगलबार दिउँसो श्वासप्रश्वाससँगै मुटु दुख्न थालेपछि काठमाडौं लैजाने क्रममा बाटोमा थप जटिल समस्या देखिँदा उनलाई परासीस्थित जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्मालाई अस्पतालले मृत्यु घोषणा गरेको छ ।

सामुदायिक सूचना नेटवर्क (सीआईएन), माउन्टेन टेलिभिजन, रेडियो परासी लगायत सञ्चामाध्यममा काम गर्दै आएकी पत्रकार स्व. शर्मा पछिल्लोपटक अनलाइनमा समेत आबद्ध थिइन् ।

उनी क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे) नवलपरासीकी संस्थापक अध्यक्ष समेत हुन् । पत्रकार स्व. शर्माका पति राजेश साहनी समेत पत्रकार महासंघका सदस्य हुन् । छोरीको अवस्था स्वस्थ रहेको परिवारजनले जनाएको छ ।

सम्बन्धित
Loading...