भारतीय सेना हटाउने माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको घोषणा

काठमाडौं । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति डा. मोहम्मद मुइज्जु विदेशी हस्तक्षेपविरुद्ध देखिएका छन् ।

यसअघिका राष्ट्रपति इब्राहिम सोलिहले भारतीय हस्तक्षेपविरुद्ध चुइक्क बोल्न नसकेका बेला नयाँ राष्ट्रपति कडा देखिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूभागबाट भारतीय सेना तुरुन्तै हटाउने बताए । माल्दिभ्सको भूमिमा कुनै पनि विदेशी सेनाको उपस्थिति सह्य नहुने बताउँदै उनले भारतीय सेना तुरुन्तै हट्नुपर्ने बताए ।

गत महिना भएको माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उनले भारतीय सेना हटाउने प्रतिबद्धता जनाएका थिए । उनले भारतीय राजदूतलाई भेटेर पनि सेना हटाउने विषयमा जानकारी गराएको बताए ।

वर्तमान राष्ट्रपति इब्राहिम सोलिह सन् २०१८ मा सत्तामा आएपछि भारतसँग निकटता बढाएर भारतीय सेनाको उपस्थितिबारे मौन रहेका थिए । जसले गर्दा उनको आलोचना हुँदै आएको थियो ।

समाचारअनुसार राष्ट्रपति इब्राहिम भारतसँग नजिक थिए भने नवनिर्वाचित राष्ट्रपति मुइज्जुको गठबन्धनले चीनसँग नजिक देखिएको छ । चीनले माल्दिभ्समा पूर्वाधार र विकास परियोजनाका लागि ऋण र अनुदानको रुपमा करोडौं डलर लगानी गरेको छ ।

भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा २ वटा हेलिकप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो । त्यो विमान सञ्चालनका लागि भन्दै २०२१ मा माल्दिभ्सको सुरक्षा बलले ७५ जना भारतीय सैनिक बोलाएको थियो । त्यसयता माल्दिभ्समा भारत विरोधी भावना बढ्दै गएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मुइज्जुले आफू माल्दिभ्स समर्थक भएको र देशको स्वतन्त्रता र स्वाभिमानका लागि मात्रै काम गर्ने प्रस्ट पारेका छन् ।

सम्बन्धित
Loading...