धनगढी फूलमा आत्मनिर्भर, नबेचिएको उत्पादन खरिद गर्दै उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका फूल उत्पादनमा आत्मनिर्भर बनेको छ ।

उपमहानगरपालिकाले स्थानीय किसानलाई फूलखेती तालिम दिएपछि यसपालि धनगढी फूल उत्पादनमा आत्मनिर्भर बनेको हो ।

बडादशैंको सिजनमा बढी उत्पादन भएको फूल बिक्री नभएपछि धनगढी उपमहानगरपालिकाले नै खरिद गरिदिएर किसानलाई प्रोत्साहन गरिरहेको नगर प्रमुख (मेयर) गोपाल हमालले जानकारी दिए ।

स्थानीय किसानबाट फूल किनेर धनगढी उपमहानगरपालिकाले दशैंको अवसरमा धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको मुख्यद्वारा, गेट र नगर प्रहरीको कक्ष अगाडि सजावट गरेको छ ।

मेयर हमालको नेतृत्वमा उपमहानगरपालिकाले धनगढी क्षेत्रमा व्यावसायिक फूल खेती प्रबर्द्धन गर्ने नीति लिएको छ । उत्पादन बढ्दै गएमा सुदूरपश्चिम बाहिरका बजारमा पनि धनगढीको उत्पादनलाई पुर्‍याउने मेयर हमालले बताउँदै आएका छन् ।

विगतका वर्षमा धनगढीका बजारमा बाहिरबाट फूल आयात गरेर दशैंतिहार मनाउनुपर्ने अवस्था थियो । यसपालि उपमहानगरको सहयोगमा स्थानीय किसानले फूल खेती गरेर धनगढीलाई आत्मनिर्भर बनाएका छन् । धनगढी उपमहानगरपालिका–६, १२, १३ मा किसानले फूलखेती गरिरहेका छन् ।

स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने प्लाष्टिकजन्य फूल र फूलका माला बिक्री वितरणमा रोक लगाएको छ ।

सम्बन्धित
Loading...