फागुन २३ र २४ गते सुदूरपश्चिममा लगानी सम्मेलन, प्रदेश सरकार र महासंघबीच सम्झौता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त आयोजनामा आगामी फागुन २३ र २४ गते लगानी र विकास सम्मेलन गर्ने भएका छन् ।

आज शनिबार प्रदेश सरकार र महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासंघमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ ।

सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेश समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । महासंघले सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता गरेको छ ।

मुख्यमन्त्री शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनको अवसरमा सुदूरपश्चिममा लगानी आउनेमा विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित
Loading...