धनगढीको ‘एक्सन’ : ३० दिनभित्र तोकिएको विशेषतायुक्त स्मार्ट सडकबत्ती जडान नगरे कारवाही

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्तरिया–भन्सार ६ लेन सडकको बाँकी खण्डमा आगामी ३० दिनभित्र तोकिएको विशेषतायुक्त सडक बत्ती जडान गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

भन्सारपट्टिको सडकखण्डमा कम उज्यालो दिने सडक बत्ती जडान भएको नगरबासीको गुनासोलाई सम्बोधन गर्न उपहानगरपालिकाले निर्माण कम्पनीलाई पत्राचार गर्दै अन्तिम पटकलाई ३० दिने म्याद दिएको छ ।

निर्माण व्यवसायी ड्राईभ इलेक्ट्रोनिक्स प्रालि बालाजुलाई पत्राचार गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले स्मार्ट सडकबत्ती जडान नभए नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।

 सामाजिक सञ्जालमा व्यक्त गुनासोलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नगर प्रमुख (मेयर) गोपाल हमालले कम गुणस्तरको सडकबत्ती जडान भएकोबारे अवगत नै रहेको र तोकिएको गुणस्तरयुक्त सडकबत्ती जडान नहुँदासम्म भुक्तानी नदिइने बताएका छन् । गुणस्तरको विषयमा नगरवासीले चासो राखेकोप्रति मेयर हमालले खुशी व्यक्त गरेका छन् ।

यसअघि समेत धनगढी उपमहानगरपालिकाले ठेकेदार कम्पनीलाई पटक–पटक पत्राचार गर्दै सचेत गराउँदै आएकोमा यसपालि अन्तिम पटकलाई भनेर पत्राचार गरिएको छ ।

सम्बन्धित
Loading...