धान खेतमा सामान्य विवाद हुँदा सासुको निर्मम हत्या, घरमा भकारीभित्र लुकाएको शव फेला

काठमाडौं । धान खेतमा भएको सामान्य विवाद घरमा आएर चर्किएपछि सल्यानमा बुहारीको सासुको हत्या गरेको पाइएको छ ।

घरायसी विवादमा सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने कान्छी बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १५ गते दिउँसो खेतमा धानको भारी लिन जान्छु भनी गएकी सासु बेपत्ता भएपछि खोजी गर्ने क्रममा घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको छ ।

सासु–बुहारीबीच धान खेतमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक–पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसेर हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगत समेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सल्यानबाट उनलाई ७ दिन थुनामा राख्ने अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित
Loading...