शुक्लाफाँटामा फार्मेसी पढाइको भर्ना खोल्दै सीटीईभीटी, माओवादी नेताहरूलाई छटपटी !

महेन्द्रनगर । कञ्चनपुरको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी विषयको पढाइका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भर्ना खोल्ने तयारी गरेको छ ।

चिकित्सा शिक्षा आयोगले फार्मेसी पढ्ने विद्यार्थीको सिट संख्या निर्धारण गरेर पठाएपछि सीटीईभीटीले भर्ना खोल्ने तयारी थालेको हो ।

सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले आयोगबाट सिट निर्धारण भएर आएकाले अब भर्ना खुल्ने जानकारी दिए । ‘भर्ना खुलेको सूचना केन्द्रबाटै आउने हो । छिटोमा यसै हप्ताभित्र र ढिलोमा अर्काे हप्तासम्म भर्नाको सूचना आउँछ ।’

यसै वर्षदेखि शिक्षालयमा फार्मेसीको पढाइ सञ्चालन गर्ने सीटीईभीटीको तयारी छ । शिक्षालय सीटीईभीटीको आंगिक कलेज हो । फार्मेसीलाई स्वास्थ्य क्षेत्रमा आकर्षक शैक्षिक कार्यक्रम मानिन्छ । निजी क्षेत्रबाट सञ्चालित कलेजमा फार्मेसी पढ्दा चर्काे शुल्क तिर्नुपर्नेमा अब सरकारी शिक्षालयमा फार्मेसी कार्यक्रम सञ्चालन हुँदा सुपथ शुल्कमा पढ्न पाइनेछ ।

माओवादीभित्र छटपटी !

असोज १९ गते शुक्रबार अपराह्न ४ः४९ बजे नेकपा एमालेका युवा नेता अर्जुन भट्टले शुक्लाफाँटामा फार्मेसी कार्यक्रम सञ्चालन हुने खुसीको खबर सामाजिक सञ्जाल फेसबूकमा लेखे । उनले लेखेका थिए, ‘खुशीको खबर ! पूर्व माननीय नरबहादुर धामीज्यूको विशेष पहलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय झलारीमा यसै आर्थिक वर्ष २०८०/८१ मा डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन हुने सम्पूर्णमा हार्दिक जानकारी गराउँदछौं ।’

नेता भट्टले खुशीको खबर व्यक्त गरेपछि अनलाइन सञ्चारमाध्यमले समेत झलारीमा फार्मेसीको पढाइ हुने समाचार प्रकाशित गरे । फार्मेसी पढाइ हुने भएपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया व्यक्त भइरहे ।

शुक्रबार राति ११ः०३ बजे ‘शुक्लाफाँटा पोलिटेक्निक इन्स्टिच्युट’ नामक फेसबूक पेजमा सामाजिक सञ्जाल र न्युजहरू आएको कुरामा भ्रममा नपर्न भनेर लेखियो ।

शुक्रबार राति ११ः०३ बजे ‘शिक्षालय प्रमुख’ लेखेर आएको स्टेटसले फार्मेसी पढाइ हुने कुरा गलत हो कि भन्ने भ्रम फैलियो । फार्मेसी पढाइ हुने सुखद विषयमा लेखिएका कुरा र समाचारलाई राति खण्डन गर्नुपर्ने शिक्षालय प्रमुखलाई के आपत आइलाग्यो ? स्पष्ट खुलेको छैन । उनबाट प्रतिक्रिया लिन फोन गर्दा स्वीच अफ थियो ।

शिक्षालयको त्यो स्टेटसलाई प्रचारप्रसार गर्ने र फैलाउने काम गरे नेकपा माओवादी केन्द्रका नेताहरूले । माओवादी केन्द्रबाट शुक्लाफाँटामा मेयरको उम्मेदवार बनेका नवराज ऐरले एउटा न्युज लिंक शेयर गर्दै लेखेका छन्, ‘परिश्रम नगर्ने तर प्रचारको भोग उच्च राख्नेहरुलाई शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय को गतिलो झापड । उनले शिक्षालयसँग सम्बन्धित फार्मेसी कार्यक्रम प्रक्रिया मै रहेको तर आधिकारी रूपमा पत्र नभैसकेको विषयलाई लिएर सिटिईभीटीको अनाधिकृत रूपमा छाप, दर्ता, चलानी र दस्तखत समेत नभएको पत्र प्रयोग गरिएको बताएका छन् । यस विषयमा शिक्षालयले गम्भीर चिन्ता र चासो प्रकट गरेको समेत उल्लेख गरेको छ ।’

उनी मेयरको उम्मेदवार हुँदा प्रचारप्रसारमा खटिएका माओवादी नेता भुवनसिंह विष्टले न्युज शेयर गर्दै लेखे, ‘भ्रामक समाचार पछि नलाग्न सुक्लाफाटा बहुप्राबिधिक शिक्षालयको अनुरोध ।’ उनी शुक्लाफाँटाका वासिन्दा भने होइनन् ।

नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा नगर कमिटी सचिव दिपकराज भट्टले फेसबूकमा लेखेका छन्, ‘अचम्म लाग्छ । कोहि नायक फिलिम को झल्को दिन्छन त कोहि पहल गर्छन् । जनता लाई उल्लु कहिलेसम्म बनाउने ?’

माओवादीबाट चुनाव जितेका पूर्व वडाध्यक्ष शिवराज पनेरुले फेसबूकमा लेखेका छन्, ‘नक्कली प्रचारवाजिहरु होसियार ! जस्को सिङ छैन उस्को नाम तिखे भनेझै आफु सांसद हुदा माखो नमार्ने तर हुनलागेको काममा समेत गलत समाचार लेख्न लगाउने नर बहादुर धामिको गतिविधि सबैले बुझ्न जरुरी छ । चेतावनि दिन चाहान्छु यो शिक्षालयलाई नबिगार्न र प्रक्रियामा अगाडि बढ्न दिन ती तत्वहरुलाई ! धन्यवाद शिक्षालय प्रमुख ज्यु सत्यतथ्य जानकारीका लागि ।’

यसरी शुक्लाफाँटामा फार्मेसीको पढाइ हुने खबर आएपछि माओवादी नेताहरूले सामाजिक सञ्जालमा छटपटी पोखेका छन् । त्यो छटपटीका पछाडि शिक्षालय प्रमुख दिपक विष्ट पनि जोडिएका छन् । उनले शुक्रबार राति ११ बजेपछि फेसबूक पेजमा लेख्नुको आवश्यकता र औचित्य के हो भन्ने बुझिएको छैन ।

शुक्रबार दिउँसो चिकित्सा शिक्षा आयोगले सिट निर्धारणको निर्णय गरेपछि खुशीको खबर प्रवाह भएको थियो । आयोगले असोज १९ गते शुक्रबार निर्णय गरेपछि एमाले नेता भट्टले खुशी व्यक्त गर्दै स्टेटस लेखेका थिए । उनले भने, ‘हामीलाई फार्मेसीको पढाइप्रति चासो र चिन्ता थियो । हामी सीटीईभीटी र आयोगको निरन्तर सम्पर्कमा थियौं, त्यसैले हामीले खुशीको खबर थाहा पाएर सबैलाई जानकारी दियौं,’ उनले भने, ‘राजनीतिको खोल ओढेका केही षड्यन्त्रकारीहरूको धन्दा सरुवा, बढुवामा घुस खाने र कमिसन उठाउनेमै हुन्छ, उनीहरूलाई विकास, शिक्षा, स्वास्थ्यमा चासो हुँदैन । त्यसैले शुक्लाफाँटामा फार्मेसी पढाइ हुने कुरा उनीहरूका लागि भ्रम नै हो । अब छिट्टै फार्मेसीको भर्ना खुलेपछि सबै प्रस्ट भइहाल्छ ।’

यस्तो छ शुक्रबार दिउँसो आयोगले सीटीईभीटीलाई लेखेको पत्र –

यतिबेला प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएका कारण माओवादीहरूले फार्मेसीको भर्ना खुल्ने प्रक्रिया रोक्न सक्ने चिन्ता व्यक्त गर्छन् शुक्लाफाँटावासी लोकेन्द्र भट्ट । ‘माओवादीहरूले शुक्लाफाँटामा फार्मेसी पढाइ भएको देख्न चाहेका छैनन् भन्नेतिर त मेयरका उम्मेदवारदेखि पूर्व वडाध्यक्षसम्म लागेको देखिन्छ,’ उनले भने, ‘शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय विरुद्धको षड्यन्त्र असफल पार्न निरन्तर खबरदारी गर्नुपर्छ ।’

निवर्तमान सांसद नरबहादुर धामीको कार्यकालमा शिक्षालयको स्थापना भएको थियो । शिक्षालयमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्व सांसद धामीले चासो राख्ने र पहल गर्ने गरिरहेकाले आयोग र सीटीईटीभीबाट भएका निर्णयबारे थाहा पाइने गरेको धामीका स्वकीय सचिव समेत रहेका नेता भट्टले बताए । ‘जसलाई शैक्षिक कार्यक्रम थप गर्नेतिर चासो नै छैन, उनीहरूले भ्रम फैलाउने र ईष्या गर्ने काम मात्रै गर्ने गरेको देखियो,’ उनले भने ।

सम्बन्धित
Loading...